विगत तीनदिनदेखि देशभरको यातयात सेवा ठप्प छ । नागरिकहरु सडकमा सवारी साधन नपाएर भौंतारिहेको र दुःख पाइरहेको अवस्था छ । तर सरकारले नागरिकहरुको यो पीडामा कुनै चासो देखाएको छैन । बरु यातयात व्यवसायीहरुले चाहेको मनपरितन्त्रमा सरकार पनि सहभागी बनेको छ ।सरकारले त नागरिकहरुको समस्याको सबमाधान गर्ने हो रमिते बन्ने होइन तर सरकार यहाँ रमिते छ । तीन दिनदेखि यातयात व्यवसायीहरुले सिण्डीकेटको माग राखेर सेवा ठप्प पार्दैआएका छन् र सरकार आन्दोलनमा लत्रिएको छ ।

सडक सबैको हो र यहाँ जसले पनि गाडी चलाउन पाउनु पर्दछ । कुन सवारी साधनमा चढ्ने हो भन्ने कुरा त्यो यात्रुहरुको अधिकारको कुरा हो । हाम्रैमा चढ्न पर्छ भन्ने कुरा यातयात व्यवसायीहरुको दादागिरीपन हो र सिण्डीकेट नै हो । सरकारले घुँडा यो विषयमा टेक्ने नै होइन तर टेक्छ सरकार । अझै व्यवसायीहरुले रमिता देखाएर मंगलवार समेत यात्रुलाई दुःख दिएका छन् । हैरानी दिएका छन् ।

यस्तो अत्यावश्यक कुरामा हड्ताल गर्न पाइदैन तर यो देशमा यस्तो कुरा कसले सुन्छ र वा पालना गर्छ र ? सरकार नै माफिया र दलालहरुको संरक्षक भएपछि नागरिकहरुले न्याय पाउने कुरा पनि भएन। भोलि राता प्लेटधारीले पनि यात्रु बोक्न पाउनुपर्छ भनेर आन्दोलन गरे भने सरकार के गर्छ ? त्यसैले यातयात व्यवसायीहरुको माग र सरकारको रबैया दुबै उस्तै छन्,जुन देश र जनताका लागि फाइदाजनक छैनन् ।

 

Leave a Reply