आजैको दिन अर्थात २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रिक राष्ट्र घोषणा गरिएको थियो । यो घोषणासंगै नेपालमा करिब दुई सय वर्षदेखि जहानिया शासन गर्दै आइरहेको शाह बंशीय राज संस्थाको औपचारिक रुपमा बिदाई पनि भएको थियो ।गणतन्त्रको स्थापना भएको संझनामा बिहीवार गणतन्त्र पक्षधरहरुले विभिन्न कार्यक्रमको आयोजना गरी तामझामकासाथ यो दिवस मनाएका छन् । नेकपा एमालेले त काठमाण्डौंमा गणतन्त्रको पक्षमा प्रर्दशन नै गरेको छ ।
त्यसो त गणतन्त्र दिवस मनाइरहदा सडकमा छोटो समयमा नै गणतन्त्र विरुद्ध नारा पनि लागेको छ । मुख्यतः तत्कालिन राजाका समर्थकहरुले फेरि पनि कतै फाइदा लिन सकिन्छ कि भनेर यो प्रयास गरेका हुन् ।
आफ्नो स्वार्थ पूर्तिका लागि यी राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्रका नाती हृदेन्द्र शाहको समेत नाम लिएको पाइन्छ । तर यो देशमा राजतन्त्र वा राजसंस्था अब इतिहाँस भइसकेको छ । अब राजा आएर पनि केही हुनेवाला छैन । त्यसैले कोही एक व्यक्तिलाई फेरि देश सुम्पिएर बर्बादीको बाटोमा जानु उचित होइन । देश बिगार्नमा जति राजनीतिक दलहरु जिम्मेवार छन्, त्यत्ति नै शाह बंसका राजाहरु पनि छन् । कुनै शाह बंशले राम्रो पनि गरे होलान् तर सबै राजाहरुले राम्रो गरेका छैनन ।
मानौं, हृदयन्द्रबाट पनि राम्रो होला भन्न सकिन्छ र ? त्यसैले गणतन्त्र नै सुन्दर विकल्प हो र यसको विकल्प खोज्ने कुरै भएन । यसको विकल्प भनेको चैं निर्वाचन प्रणाली हुनसक्छ । जनतामा पुग्ने नीति हुनसक्छ । नेतालाई जवाफदेही बनाउने व्यवस्था हुनसक्छ । तर, राजतन्त्र वा संस्था हुनैसक्दैन । यस्ता भ्रमको पछि नयाँ पुस्ता नलाग्न नै उचित हुनेछ । देश बर्बाद बनाउनका लागि फेरि यो अभ्यास हुदैछ यो राम्रो हुदै होइन ।

Leave a Reply