नरेश गुप्ता
बरियारपुर,जिल्ला प्रशासन कार्यालय बारामा सेवाको लागि आउने सेवाग्राहीहरुले कार्यालयबाट प्रदान गरिने सेवाप्रति असंतुष्टि जनाएका छन ।
जिल्ला प्रशासन कार्यालयमा हरेक दिन देखिने गरेको भिडभाड र सेवा प्रवाहमा हुने अस्तव्यस्ताले सेवाग्राही असन्तुष्ट बनेका हुन । कार्यालयमा नेपाली नागरिकताको प्रमाण पत्र बनाउने, प्रतिलिपि लिने, राष्ट्रिय परिचय पत्र निर्माण गर्न आउनेलगायतका सेवाग्राहीहरुको भिड लाग्ने गरेको छ । तर कार्यालयको अस्तव्यस्तताले सेवाग्राहीहरुले छिटो छरितो सेवा प्राप्त गर्न सकेका छैनन ।
जिप्रकामा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, राहदानी बनाउने सेवा सुविधासहित विभिन्न किसिमका मुद्दा पनि गर्ने गरिन्छ । तर नागरिकताको प्रतिलिपि लिन जाने सेवाग्राहीहरुलाई पुरानो डाटाहरु सुरक्षित नभएको भन्दै कर्मचारीहरुले एक दिनमा हुने काममा पनि एक हप्ताभन्दा बढि लगाउने गरेको सेवाग्राहीले गुनासो गरेका छन । तर कर्मचारीहरुको हातमा पैसा थपाइदियो भने तुरुन्तै काम गर्ने गरेको महागढिमाई नगरपालिका वडा नम्बर ९ का पन्नालाल दासले बताउनुभयो ।
त्यस्तै कार्यालय हेरिने अभद्र व्यवहार, कालो बजारी, जुवा मुद्दा र व्यक्तिगत घटना दर्ता सम्बन्धी मुद्दामा पनि कर्मचारीहरुले पैसा बिना कुनै काम नगर्ने गरेको पाइएको छ । कर्मचारीहरुले मुद्दाको प्रकृति र व्यक्तिको हैसियत हेरेर रकम लिने गरेको रहस्य खुलेको छ ।
त्यस्तै नागरिकताको प्रतिलिपि लिन वा नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय बारामा वडा कार्यालयबाट सिफारिस लिएर जादा पपिन प्रशासकीय अधिकृतहरुले दुःख दिने नियतले सर्जमिनको लागि पत्र काट्ने गरेको गुनासो सिम्रौनगढ नगरपालिका निवासी शन्नी गुप्ताले गर्नुभएको छ । गुप्ताका अनुसार प्रतिलिपि फारम र नयाँ नागरिकता फारममा वडा कार्यालयको सिफारिस समावेस गरेपछि सर्जमिनको लागि पत्र काटेर दुख दिने गरेको उहाँको भनाइ छ । कार्यालयबाट सेवाग्राहीलाई दिने गरेको झन्झटको बारेमा कलैया उपमहानगरपालिका वडा न २ का वडा अध्यक्ष मोहन साह कानुले कलैयामा भएको एक सार्वजनिक सुनुवाइ कार्यक्रममा नै प्रश्न गर्नुभएको थियो ।
कार्यालयमा कार्यरत कर्मचारीहरुले आफूलाई जनताको सेवकभन्दा मालिक जस्तो ठानेर व्यवहार देखाउने गरेको गुनासो पनि सेवाग्राहीले गरेका छन । यस्ता विषयमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसँग गुनासो राख्न जाँदा सुरक्षाकर्मीहरुले भेट गर्न रोक लगाउने गरेको कलैया उपमहानगरपालिका वडा नम्बर १४ का बौवालाल जयसवालले बताउनुभयो ।
जिल्लाको शान्ति सुरक्षा कायम गर्ने निकाय जिल्ला प्रशासन कार्यालय हो । कार्यालयको समन्वयमा बजार अनुगमनदेखि भ्रष्टाचार नियन्त्रण र रोकथाम गर्ने जिम्मेवारी पनि सोही कार्यालयलाई छ । तर यतिधेरै जिम्मेवारी बोकेको र जनउत्तरदायी बोकेको कार्यालयमा नै ढिलासुस्ति भएपछि माताहातका अन्य निकायले प्रदान गर्ने सेवा कस्तो हुन्छ होला भनेर सेवाग्राहीहरुले प्रश्न गरेका छन ।
उता, प्रजिअ कटुवालले कार्यालयमा कर्मचारी अभावका कारण काम गर्न केही समस्या भएको बताउनु भएको छ । उहाँले कर्मचारीहरुले सेवाग्राहीसँग कुनै किसिमको नलिएको र कसैले लिएको पाइए कारबाही हुने पनि बताउनुभएको छ ।



















