कलैया,समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष सुभाष साहले पदबाट राजीनामा दिनुभएको छ ।उपाध्यक्ष साहले पार्टीभित्र अराजकता बढ्दै गएको बताउदै आइतवार एकिकृत समाजवादी पार्टी र समाजवादी प्रेस संगठनको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजिनामा दिनुभएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल महासचिव घनश्याम भुषाललगायतका नेताहरुलाई शंवोधन गर्दै संगठनको मधेस प्रदेश इन्चार्जसमेत रहनुभएका साहले लेख्नुभएको राजिनामा पत्रमा तत्कालिन समयमा नेकपा (एमाले) मा रहँदा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि विधान र संविधान मानेनन्, मनोमानी र हैकमवाद चलाउन खोजे भनेर विद्रोह गरी नेकपा (एकीकृत समाजवादी पार्टी गठन गरेको र सोही क्रममा पार्टीका पत्रकारहरूको संगठन ‘समाजवादी प्रेस संगठन नेपाल’ को पनि जन्म भएको उल्लेख गर्नुभएको छ ।

उहाँले पार्टी र संगठनको जन्म भएदेखि आफूहरुले पार्टी र संगठनप्रति बफादार र जिम्मेवार भएर इमान्दारीपूर्वक कर्तव्य निर्वाह गर्दै आएको तर आज आएर समाजवादी प्रेस संगठनमा पनि ‘केपी ओली’ प्रवृत्ति बढ्दै गएको महसुस भएको जनाउनुभएको छ ।त्यसैगरी पर्सा जिल्लामा समाजवादी प्रेस संगठन नेपालका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठको पालादेखि विवाद रहदै आएको उल्लेख गर्दै संगठनको निवर्तमान केन्द्रिय अध्यक्ष विश्वमणी सुवेदीसहितका केही नेताहरूले पर्सा जिल्ला संगठनको विवाद समाधान गर्नुको साटो झनै विवाद उत्पन्न गराएकोले पर्सा संगठनमा समानान्तर समिति गठन भएको र त्यसलाई समाधान गर्न आफूले निरन्तर गरेको प्रयासपछि सर्वसम्मत निर्णय गरेर समस्या हल गरिएकोमा पार्टी र संगठनकै केही नेताहरूले उक्त विवाद समाधान गर्नुको साटो निर्णय कार्यान्वयन नगरी बल्झाउने र बढाउने काम गर्दै आएको आरोपसमेत साहले लगाउनुभएको छ ।

पर्सामा विवाद सुरू हुँदा केन्द्रिय अध्यक्ष रहनुभएका र शम्भु श्रेष्ठ नै हाल पनि संगठनको केन्द्रिय अध्यक्ष हुनुहुन्छ तर पनि पर्साको समस्या समाधान नभई पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा विधि, विधान उल्लंघन गर्ने, सर्वसम्मतिको निर्णय कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएको उहाँको आरोप छ ।

‘संगठनको विधि–विधानानुसार निर्णय कार्यान्वयनको लागि जिल्ला समितिले नेकपा एकीकृत समाजवादी पार्टी, प्रचार विभाग तथा संगठनमा न्यायको लागि ध्यानाकर्षण गराएको थियो, पत्रमा भनिएको छ, तर सो निर्णय कार्यान्वयन नगरी विवादित कमिटीलाई नै मान्यता दिएर पार्टी अध्यक्ष माधवकुमार नेपाल र संगठन नेतृत्वले संगठनमा विधि, विधानको घोर उल्लंघन गरी ‘ओली प्रवृत्ति’ जारी राखेको देखिन्छ ।’विधि, विधानको कुरा गर्ने आफ्नो पार्टी र संगठनका नेताहरुको व्यवहार भने उल्टो देखिएको र यस्तो विधिविपरितको मनोमानी शैली आफूलाई स्वीकार्य नभएको उहाँले उल्लेख गर्नुभएको छ ।उपाध्यक्ष साहले एकीकृत समाजवादीमा पनि एमालेको जस्तै कार्यशैली कायम हुने हो भने एकीकृत समाजवादी पार्टीको आवश्यकता नपर्ने पनि जिकिर गर्नुभएको छ । ‘ओली र नेपाल दुबै उही मनोमानी र हैकमवाद शैलीमा हिड्ने हो भने यो पार्टी विघटन गरी मर्ज किन नगर्ने ?’ साहले प्रश्न गर्नुभएको छ ।

Leave a Reply