भर्खर आम चुनाव सकिएको छ । लगभग आम चुनावको परिणाम पनि सार्वजनिक भैसकेकोे छ । पछिल्लो पटक सम्पन्न भएको चुनावले नेपालका ठूला भनिएका सबै दललाई सबक सिकाएको छ । कुनै पनि दलको बहुमत नआउने पनि स्पष्ट भएको छ भने केही दलका जिम्मेवार नेता नै यो चुनावमा पराजित भएका छन् । चुनावमा उनीहरु पराजय भए पनि सरकार र पार्टीमा भने लिसो टाँसिए जसरी उनीहरु टाँसिएका छन् । खासामा पार्टीको पदाधिकारीमा नै रहेका माओवादी र एमालेका केही नेतालाई जनताले अस्वीकार गरेका छन् ।
नेपाली काँग्रेसमा पनि यो नियम लागू भएको छ र अन्य मधेशवादी दलमा पनि छ । नेपाली राजनीतिमा नैतिकता भन्ने कुरा त कुहिरोको काग नै भएको छ तै पनि जनताले दिएको मतको खिल्ली उडाउदा उनीहरुलाई नै बेफाइदा हुने पनि निश्चित छ । जनताबाट अस्वीकृत व्यक्तिहरु नैतिक रुपमा पार्टीको पदाधिकारीमा रहनु पनि गलत छ ।
यो पनि जनमतको खिल्ली उडाउने कार्य नै हो । त्यसैले हालका लागि उनीहरुले पार्टीको जिम्मेवार पद छाड्न आवश्यक छ अनि सरकारको मन्त्री रहेका व्यक्तिहरु पराजय हुदा पनि पद नछाड्नु जनमतको अर्को उपहास हो । गृहमन्त्री सहितका केही मन्त्रीहरुले चुनाव हारेका छन् । तर राजिनामा दिएर पद छोडनुको साटो उनीहरुले जनमतको खिल्ली उडाउदै सिंहदरवारमा विराजमान छन् ।

















