वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको तीन महिना बित्न लाग्यो । तर अझै पनि मर्मत भएको छैन । वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आर्कषण घण्टाघर घुम्टोमा छ । मर्मतसम्भारको नाममा यसलाई छोपिएको छ ।  यहाँ घुम्न आउने पर्यटक यस्तो दृश्यबाट खिन्न भएका छन् । महानगरले विगत डेढ महिनादेखि घण्टाघरमा स्काफोल्डिङ (खट बाँध्ने, टेका लगाउने) लगायतका काम गरेको थियो । अर्काेतर्फ घण्टाघर क्षेत्रमा अत्यधिक सवारीसाधनको चाप हुने भएकाले पनि घण्टाघरलाई चारैतर्फबाट छोपेर काम भइरहेको बताएपछि प्रगति भने छैन ।
घण्टाघर मर्मतसम्भार रु २० लाखको लागतमा गर्न लागिएको हो । वीरगञ्ज महानगरले २०८२ असार १० गतेसम्म निर्माण सम्पन्न हुनेगरी ठेक्का लगाएको छ । वीरगञ्जको घण्टाघर सन् १९७९ फरबरी ८ तारिखमा तयार भएको बताइन्छ । महानगरपालिकाले यसमा गम्भीरा पनि देखाएको छैन ।
त्यो बेला जापानको योनागो सहरका विद्यार्थीको एकदिनको खाजाको पैसा कटाएर घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको स्थानीय ज्येष्ठ नागरिकहरु बताउँछन ।  गत चैत २७ गते नेपालका लागि जापानका राजदूत माएदा तोरु पनि वीरगञ्ज आउँदा घण्टाघरबारे चासो व्यक्त गर्नुभएको महानगरपालिकाका अधिकारीहरुले बताएपनि काम भएको छैन । वीरगञ्जको पहिचान र गौरवको रुपमा रहेको र स्थानीय सम्पदामाथिको यो उपहास बन्द गरेकै राम्रो हुनेछ ।

Leave a Reply