मनोज शाह
जीतपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर बजारबाट पर्साको ठोरीसम्म पुग्ने हालसालै निर्माण भएको सडकमा बीच भागमा ठडिएका विद्युतको पोलले स्थानीय बासिन्दामा सवारी दुर्घटनाको चिन्ता बढाएको छ ।सडक विस्तार तथा मर्मतका क्रममा आवश्यक समन्वयबिना ढलान गरिएको देखिने यो सडकमा पोल यथावत् राखिएको छ, जसले सो सडक भएर आवतजावत गर्ने सवारी साधन दुर्घटनाको जोखिम अत्यधिक बढाएको हो ।स्थानीयका अनुसार, उक्त सडकबाट दैनिक सयौं सवारीसाधनहरू ओहोरदोहोर गर्छन् । तर सडकको बीचमा अवरोधका रूपमा ठडिएको पोलका कारण मोटरसाइकल, अटो रिक्सा र साना गाडीहरूलाई समेत सहज रूपमा आवतजावत गर्न समस्या परेको छ । ‘सडकको बीच भागमा रहेका पोलहरु कुनै पनि बेला दुर्घटनाको कारण बन्न सक्छ,’ एक स्थानीय बासिन्दाले चिन्ता व्यक्त गर्नुभयो ।

विकास निर्माणमा संलग्न सम्बन्धित निकायको लापरवाहीप्रति स्थानीयहरूले कडा असन्तुष्टि जनाएका छन् । उहाँहरूका अनुसार, स्थानीय सरकार, नेपाल विद्युत प्राधिकरण र सडक डिभिजन कार्यालयबीच समन्वयको अभावले यस्तो अवस्था सिर्जना भएको हो ।स्थानीयवासीहरूले पोल तत्काल हटाउन र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन । सर्वसाधारणको जीवनसँग सम्बन्धित विषयमा गरिएको यस्तो ढिलासुस्ती कुनै हालतमा स्वीकार्य नहुने स्थानीयको भनाई छ ।

Leave a Reply