आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ बजारमा स्थानीयले बन्द गरेको मुख्य सडक प्रहरीले चार घण्टापछि खुलाएको छ ।
बाराको सिम्रौनगढ नगर क्षेत्रमा पर्ने कन्काली–रानिवास सडकखण्ड आज स्थानीयवासीले अवरुद्ध गरेका थिए । पर्यटकीय तथा धार्मिकस्थल रानिवास रामजानकी मन्दिर र सिम्रौनगढस्थित कन्काली मन्दिर जोड्ने उक्त मुख्य सडक विगत चार वर्षदेखि निर्माणाधीन रहे पनि हालसम्म सम्पन्न हुन नसकेको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् ।
सडक निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयबासिन्दा, यात्री तथा पर्यटकहरूले दैनिक रूपमा सास्ती भोग्नुपरेको स्थानीयहरूको गुनासो छ । यही समस्याबाट आजित बनेका उनीहरूले बाध्य भएर सडक अवरुद्ध गर्दै तत्काल निर्माण सम्पन्न गर्न माग गरेका थिए ।
स्थानीयले सडकमा बाँस र ढुङ्गा राखेर अवरोध सिर्जना गरेका थिए । करिब चार घण्टा सडक अवरुद्ध रहेपछि साँझ ५ः३० बजे प्रहरी पुगेर अवरोध हटाउँदै सडक पुनः सञ्चालनमा ल्याएको हो ।सरकारको ढिलासुस्ती, ठेकेदारको लापरवाही तथा जनप्रतिनिधिहरूको मौनताका कारण समस्या लम्बिएको स्थानीयवासीहरूको आरोप छ । उनीहरूले यथाशीघ्र सडक निर्माण सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

















