पुष्पराज खतिवडा
बारा,बारा जिल्लामा बढ्दो सवारी चाप, सडक प्रयोग गर्ने क्रममा देखिएको अनुशासनहीनता र ट्राफिक अव्यवस्थालाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सुधारका लागि १२ बुँदे कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।

प्रजिअ अधिकारीले तत्काल कार्यान्वयन गर्नुपर्ने ठहर गर्दै यी बुँदाहरू ट्राफिक नियम कडाइका साथ पालना गराउने उद्देश्यले अघि सार्नुभएको हो । सार्वजनिक कार्ययोजनाअनुसार अब पथलैया– परवानीपुर ६ लेन सडक र सर्भिस लेन क्लियर गरिनेछ र लेन अनुशासन कडाइका साथ पालना गराइनेछ । चुरियामाई–पथलैया सडक खण्डमा कुनै पनि सवारी साधन रोकिन नपाइने वा पार्किङ गर्न नदिने व्यवस्था गरिनेछ ।

सिटी क्षेत्रमा चल्ने इ–रिक्सा राष्ट्रिय राजमार्गमा सञ्चालनमा रोक लगाइनेछ भने तिनीहरूलाई सर्भिस लेनमा मात्र सञ्चालन गर्न दिइनेछ । ढुङ्गा, गिट्टी, बालुवा बोक्ने ट्रिपरलाई ढालाभन्दा माथि सामान नबोक्न निर्देशन दिइएको छ भने ट्रिपरमा त्रिपाल अनिवार्य गरिनेछ । साथै, नम्बर प्लेट अस्पष्ट भएका ट्रिपरलाई नयाँ लेखन गर्न लगाइनेछ ।
बजार क्षेत्रमा अनावश्यक हर्न बजाउने कार्यमा रोक लगाइनेछ भने कलैयाको मुख्य बजार क्षेत्रमा पार्किङ क्षेत्र निर्धारण गरी व्यवस्थापन गरिनेछ । यस्तै, कलैया बसपार्कको पूर्वनिर्धारित सञ्चालन गराइनेछ र कलैया चोकमा सवारी पार्किङ निषेध गरिनेछ ।

ई–रिक्सालाई सहरभित्र तोकिएको रूटबाहेक अन्यत्र सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइनेछ । भारतीय नम्बर प्लेट भएका सवारीहरूलाई आधिकारिक कागजात भएको अवस्थामा मात्र सञ्चालनमा ल्याइनेछ । बिना चालक अनुमतिपत्र, कागजातबिनाका सवारी, हेलमेट नलगाउने, मापसे गर्ने, वा २ जनाभन्दा बढी सवार मोटरसाइकल चालकहरूमाथि स्पटमै कारबाही गरिनेछ ।सडक सुरक्षा र ट्राफिक सचेतना सम्बन्धी व्यापक प्रचार–प्रसार गरिने र युवाहरूलाई सक्रियरूपमा सहभागी गराइने अधिकारीले जनाउनुभएको छ ।

Leave a Reply