निजगढ,निजगढ सार्वजनिक सरोकार समितिले बाराका सबै स्थानीय तहका प्रमुखहरुलाई भेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि विशेष प्रस्ताव पास गर्न आग्रह गरेको छ । समितिको आग्रहमा जिल्लाका १६ वटै पालिकाले विशेष प्रस्ताव पारित गर्ने भएका छन । बिहीवार जिल्लाका थप ६ पालिका कार्यलयमा पुगेर समितिको टोलीले पालिका सभा÷बैठकबाट विशेष प्रस्ताव पास गर्न प्रमुखहरुसंग आग्रह गरेको थियो ।

समितिका संयोजक एकबहादुर श्रेष्ठ नेतृत्वको टोलीले बिहीवार कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी, बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकर अअि भुट्टो, पर्सौनी गाउँपालिकाका अध्यक्ष बिनोद प्रसाद जैसवाल र परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेललाई कार्यलयमा भेटेर आग्रह पत्र बुझाएको हो । आग्रह पत्र बुझ्दै परवानीपुर गाउँपालिकाका अध्यक्ष पटेलले विमानस्थल निर्माण नगर्ने भनेर अदालतको फैसला खारेज हुनुपर्ने बताउनुभयो । उहाँले अदालतको निर्णय प्रतिशोधले गरिएको पनि बताउनुभयो ।

टोलीमा समितिका सदस्य विनोद भारती, टेकबहादुर भण्डारी, गोकुल घोरसाइने, दिपक सापकोटा र निर्मल भण्डारीलगायतको सहभागिता रहेको थियो ।

समितिका संयोजक एकबहादुर श्रेष्ठको नेतृत्वमा रहेको टोलीले बुधवार कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, सिम्रौनगढ नगरप्रमुख किशोरीप्रसाद कलवार, महागढीमाई नगरप्रमुख उपेन्द्रप्रसाद यादव, पचरौता नगरप्रमुख जालन्धर सिंह, करैयामाइ शम्भु यादव, बारागढीका अध्यक्ष अशोक जैसवाल, सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादव, देवताल गाउँपालिका अध्यक्ष उदयचन्द्र यादव र आदर्शकोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदप्रसाद साहलाई आग्रह पत्र बुझाएको थियो । समितिका सदस्य विनोद भारती, टेकबहादुर भण्डारी, गोकुल घोरसाइने, दिपक सापकोटा र निर्मल खडकालगायतको टोलीले पालिका कार्यालयमा पुगेर पत्र बुझाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here