कलैया,भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले बाराका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूसँग छलफल गर्नुभएको छ ।

आयोगका केन्द्रीय सदस्यहरू अनिल प्रसाई र आरती भण्डारीसहित बारा आउनुभएका अध्यक्ष रिजालले जिल्ला प्रशासन कार्यालय, कलैयामा मंगलवार आयोजित बैठकमा भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरणसम्बन्धि प्रक्रियाको बारेमा छलफल गर्नुभएको हो ।
बैठकमा अध्यक्ष रिजालले जग्गा प्राप्तिका लागि निर्धारित समयमै कानूनी प्रक्रिया अघि बढाउन जोड दिनुभएको थियो । ‘जग्गा प्राप्त गर्न कानूनी प्रक्रिया मिलाउने यो अन्तिम समय हो उहाँले भन्नुभयो, तोकिएको समयमा प्रक्रिया सुरु नगरेमा पछि कुनै पनि हालतमा जग्गा वितरण गर्न सकिँदैन ।’अध्यक्ष रिजालले सबै प्रक्रिया पूरा गरी फारम भरेका भूमिहीन तथा सुकुम्बासीहरूले करिब डेढ बिघासम्म जग्गा प्राप्त गर्नसक्ने जानकारी दिएको बैठकमा सहभागी नेपाली कांग्रेस क्षेत्र नम्बर ४(ख) का क्षेत्रीय सभापति लोकेश सिंहले बताउनुभएको छ ।
उहाँकाअनुसार, निर्धारित समयमा कानूनी प्रक्रिया नपु¥याएका र जग्गा जोतभोग गरिरहेकाहरूको जग्गा पनि सरकारले पछि खोस्न सक्नेछ। बैठकमा भूमि समस्या समाधान आयोग बाराका अध्यक्ष भरत घले, पूर्वमन्त्री एवं आयोगकी बारा सदस्य कलावती पासवानलगायतको उपस्थिति थियो।

















