नेपाल शिक्षक महासंघको आन्दोलनका कारण ११ गतेबाट शुरु हुने कक्षा १२ को परीक्षा रोकिने सम्भावना बढेर गएको छ । दुई सातादेखि सडक प्रदर्शन गर्दै आएका शिक्षकले परीक्षामा सहभागी नहुने परिपत्र जारी गरेपछि परीक्षा हुने हो कि नहुने ? अन्योल थपिएको छ । परीक्षा रोकिए नेपालको अन्तर्राष्ट्रिय छविमा समेत असर पर्ने छ ।
त्यसैगरी विदेश अध्ययन गर्न जाने विद्यार्थीहरु ठूलो समस्यामा पर्नेछन । समयमा परीक्षा हुन सकेन भने त्रिभुवन विश्वविद्यालयको कार्यतालिकामा पनि असर पर्नेछ । त्रिविले कक्षा १२ को परीक्षाफल प्रकाशित भएपछि मात्र स्नातक तहको भर्ना खुला गर्नेगरेको छ । त्रिविको तालिकाअनुसार स्नातक तहको कक्षा सञ्चालन असोजमा हुनेछ । तर कक्षा १२ को परीक्षा हुन नसके उच्च शिक्षाका सबै तहको पढाइ प्रभावित हुनेछ र विद्यार्थीहरु थप समस्यामा पर्नेछन ।महासंघको आन्दोलनका कारण एसईईको परीक्षाफल असार ७ गते प्रकाशित हुने सम्भावना टरेको छ । महासंघले शिक्षकलाई उत्तरपुस्तिका परीक्षण नगर्न निर्देशन दिएको कारण एसईईको परीक्षाफलको मिति पर सर्ने लगभग निश्चित जस्तै छ ।

















