कलैया,बाराको करैयामाई गाउँपालिकाले पालिकाभित्र ९८६ गरिव घरपरिवारको बसोबास रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।गाउँपालिकाका ८ वटै वडामा रहेका गरिव घरपरिवारको विवरण गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोले सार्वजनिक गर्नुभएको हो । तथ्याङ्क अनुसार, वडा नम्बर १ मा १३५, वडा नम्बर २ मा ७९, वडा नम्बर ३ मा ८०, वडा नम्बर ४ मा ८२, वडा नम्बर ५ मा १४५, वडा नम्बर ६ मा १३१, वडा नम्बर ७ मा २२४ र वडा नम्बर ८ मा २१० गरिव घरपरिवार बसोबास रहेकोछ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा स्थानीय तहहरूसँगको समन्वय र सहकार्यमा सञ्चालित गरिव परिवार तथा परिचय पत्र वितरण कार्यक्रम अन्तर्गत गरिब परिवारको पहिचानका लागि तथ्याङ्क सार्वजनिक गरिएको करैयामाई गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गरिब परिवारको पहिचान गरी परिचय पत्र वितरण गर्ने र यसबाट उनीहरुको सामाजिक सुरक्षा, रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका सरकारी सेवा सुविधामा पहुँच पुर्याउन सहयोग पुग्ने विश्वास गरिएको छ । गाउँपालिकाले गरिबी निवारणको उद्देश्यसहित गाउँपालिकाका गरीब परिवारहरूको जीवनस्तर उकास्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।


















