सिमरा,सिमरा विशेष आर्थिक क्षेत्र सेजको ‘ए’ ब्लकमा २५ उद्योगले सञ्चालनको लागि अनुमति पत्र प्राप्त गरेका छन ।अनुमति पाएका २५ उद्योग मध्ये चार वटा उद्योगले विशेष आर्थिक क्षेत्र प्राधिकरणसँग सम्झौता गरेर उद्योगको भौतिक पूर्वाधार निर्माण कार्य सुरु गरी सकेका छन भने अनुमति माग गरेका अन्यले पनि काम थाल्ने तयारी गरेको बताइएको छ ।२०७४ चैतमा शिलान्यास गरिएको सिमरा सेजमा पहिलो पटक उद्योग सञ्चालन गर्ने अनुमति प्रदान गरिएको हो ।सेजको ५ ब्लक मध्ये निर्माण सम्पन्न ए ब्लकमा अनुमतिपत्र प्राप्त २५ उद्योगले कारखाना सञ्चालनका लागि यसै वर्ष उत्पादन थाल्ने गरी पूर्र्वाधार निर्माण सुरु गरेका हुन् ।सिमरा सेजका प्राविधिक आनन्द भट्टले मार्बल, टायलका चार उद्योग मंसिरको पहिलो साता उत्पादन गर्ने गरी कारखाना पूर्वाधार निर्माणको अन्तिम तयारीमा पुगेको र अन्य उद्योगले पनि भदौदेखि पूर्वाधार निर्माण थाल्ने बताउनुभयो । सिमरामा मनराम हिमालयन हाण्डीक्राफ्ट, बाग्मती आर्टस्, एभरेष्ट फेसन, बालाजी मेनुफेक्चरींग, नर्थ वेष्ट ईन्डष्टिज, पशुपति सेरामिक्स, केम्याक्स हिमालयन प्रालि लगायतका उद्योग चालु आर्थिक वषैमै उत्पादन सुरु गर्ने गरी पूर्वाधार निर्माणमा जुटेका हुन् ।सेजको ‘ए’ ब्लकमा सञ्चालन हुने उद्योगमा ८ अर्ब ७५ करोडको लगानी हुने र २ हजार ९ सय ७५ ले प्रत्यक्ष रोजगार पाउनेछन् । साथै, यी उद्योगले वार्षिक २४ अर्ब ५५ करोड मूल्य बराबरको सामग्री निर्यात गर्ने विषेश आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ । उद्योगहरुले मार्बल, टायल, गार्मेन्टस, ईलेक्टोनिक सवारी एसेम्बल, हर्वल प्रोसेसिङ्ग, कृषिमा आधारित उत्पादन, सिमेन्टका बोर्ड, आल्मुनियम भाडा, टिस्यु पेपर उत्पादन गरी विदेश निर्यात गर्ने जनाइएको छ ।राष्ट्रिय रुपमा व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको सिमरा सेजमा ६ वर्षपछि उद्योग संचालनमा आउन लागेका हुन् ।सरकारले औद्योगिक वातावरण बनाउन नसकेकै कारण विगत ६ वर्षदेखि पथलैया–वीरगञ्ज औद्योगिक कोरिडोरमा नयाँ उद्योग स्थापना हुन सकेका थिएन ।उद्योग तथा आपूर्ति मन्त्रालयले सिमरास्थित वीरगञ्ज चिनी मिलको आठ सय ३३ बिघा जग्गामा सेजको निर्माण कार्य सुरु गरेको थियो ।

 

Leave a Reply