वीरगञ्ज,विवादका कारण लामो समयदेखिरोकिएको वीरगञ्जको मुख्य सडक विस्तार गर्नेक्रममा एक हजारभन्दा बढी घर भत्काउनु पर्ने अनुमान गरिएको छ।सडकको गण्डक चोकदेखि मितेरी पुलसम्म मुख्य सडक विस्तारको लागि दायाँबायाँ २५÷२५ मिटर भत्काउदा एक हजारदेखि १२ सय घरहरु भत्काउनु पर्ने वीरगञ्ज पथलैया ब्यापारिक मार्ग विस्तार आयोजनाका इन्जिनियर रन्जित साहले जानकारी दिनुभएको छ । उहाँका अनुसार भत्काउनु पर्ने घरको विवरणसहित नापी कार्यालय पर्सालाई पत्रसमेत पठाइएको छ । उक्त सडक बिस्तारको लागि कानुनी बाधा लगभग समाप्त भएसंगै अब सडक विस्तार हुने भएको हो ।

सडक विस्तारको बारेमा सर्बोच्च अदालतमा परेको मुद्दा गत फागुन २८ गते खारेज भएको थियोे । त्रिभुवन राजपथ अन्तर्गत बाराको पथलैयादेखि पर्साको गण्डकसम्म ६ लेन सडक निर्माण गर्न त्रिभुवन राजपथको अधिकार क्षेत्रभित्र सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५-२५ मिटर विस्तार गरिसकेको छ। अब गण्डकदेखि मितेरी पुलसम्मको सडक बिस्तार भएपछि व्यापारिक मार्ग विस्तार आयोजना पूरा हुने इन्जिनियर साहको भनाई छ ।यसैबीच, सडक विस्तारको आवश्यकता नभएको दाबी गर्दै घरधनी र व्यवसायीहरूले सरकारले उचित मुअब्जा नदिएसम्म सो प्रक्रिया मान्य नहुने बताएका छन्। घरबारविहिन बनाएर विकास गर्न खोज्नु सह्य छैन वीरगञ्ज बचाउ संघर्ष समितिका संयोजक जवाहरप्रसाद गुप्ताले भन्नुभएको छ ।आफ्नो मागको सुनुवाइ नभएको भन्दै संघर्ष समितिले बिहीवार वीरगञ्ज बजार बन्द गर्ने निर्णय गरेको छ। बिहान १० बजे आदर्शनगर चोकबाट जुलुस निकालेर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने संयोजक गुप्ताले जानकारी दिनुभएको छ ।

Leave a Reply