कुनै समय प्रदेश संरचनाको औचित्य के हो भनेर प्रश्न उठेकै थियो, जतिबेला प्रदेश संरचनाहरू स्थापनाको क्रममा थिए। त्यतिखेरको प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जसै ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम ल्याए, प्रशंसा पनि पाए। सातमध्ये कुनै प्रदेशको प्रशंसायोग्य अग्रपंक्तिको काम कुनै थियो भने त्यही थियो। हुन पनि मधेसमा छोरीलाई स्कुल पठाउने चलन कम छ।

महिला—पुरुषबीचको असमानताको खाडल पनि अन्तभन्दा धेरै छ। दहेज प्रथाको आगोमा जलेर थुप्रै चेलीले ज्यानै गुमाउनुपर्ने अवस्थाका बीच छोरीलाई पढाउन हौसला दिने कार्यक्रम सिर्जनशील र धरातलीय यथार्थको माग थियो।

स्कुल जाने छोरीहरूलाई साइकल दिने कार्यक्रम ल्याएर मुख्यमन्त्री राउतले वास्तवमै एकातिर विभेदका विरुद्ध प्रहार गरेका थिए भने अर्कातिर प्रदेशको प्रतिष्ठा बढाउँदै यसको औचित्य र आवश्यकता सावित गरेका थिए।एकात्मक राज्य व्यवस्थाले नदेखेको मधेस एउटा मूलभूत समस्याको सम्बोधन गर्ने काइदाको प्रशंसा नहुनुपर्ने कारण थिएन । तर त्यही कार्यक्रममा करोडौंको भ्रष्टाचार भएको तथ्य सार्वजनिक हुँदा भ्रष्टाचारको जालो पनि संघीय संरचनासँगै विकेन्द्रित भएको प्रष्टमात्रै भएको छैन, प्रदेश संरचनाको औचित्यमा प्रश्न उठाउनेहरूलाई बल पुगेको छ। संघीय व्यवस्था र यो प्रादेशिक संरचना असह्य ठान्नेहरूलाई मसला मिलेको छ।

‘बेटी बचाऊ, बेटी पढाऊँ’ मुख्यमन्त्री राउतकै पूरापूर अक्कलमा आएको कार्यक्रम थियो। कार्यान्वयनमा पनि उनी नै हाबी भए। तर भइदियो के भने साइकल किन्दा १० करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार भयो भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देख्यो। मुख्यमन्त्री बेटी बचाऊ बेटी पढाऊ कार्यक्रममा दुई खेप गरी साइकल किनिएको थियो। जबकि दुई पटकको खरिदमा एउटै साइकलमा २ हजार १४ रुपैयाँ फरक परेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here