निजगढ,११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा निजगढ नगरपालिकाले महिलाहरुबीच शनिवार आयोजना गरेको कविता प्रतियोगितामा निजगढ ५ को सार्वजनिक मावि, बागदेवकी संगीता खडका प्रथम हुनुभएको छ । खडकाले रचना गरेको ‘आमा’ शीर्षकको कविता प्रथम भएको हो ।
प्रतियोगितामा प्रथम भएबापत खडकाले १० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । त्यसैगरी निजगढ ६ स्थित गौरीशंकर मावि, सडकटोलकी सन्ध्या थापामगरको ‘म एक बास्नाबिनाको फूल’ शीर्षकको कविता द्वितीय भएको छ । थापामगरले ७ हजार ५ सय पुरस्कार जित्नुभएको छ ।त्यस्तै प्रतियोगितामा सार्वजनिक माविकै अदिती गौतम तृतीय हुनुभएको छ । उहाँको ‘उज्यालो यात्रा’ कविताले तृतीय स्थान हासिल गर्दै ५ हजार पुरस्कार जितेको छ ।त्यसैगरी निजगढ ७ की समृद्धि नेपालीको ‘म एक नारी हुँ’ शीर्षकको कविताले चौंथो स्थान हासिल गर्दै २ हजार नगदसहित सान्त्वना पुरस्कार पाएको छ ।
निजगढका २० जना कवयत्रीहरु सहभागी भएको सो प्रतियोगितामा पोखराका प्रसिद्ध कवि सुदेश सत्याल, शिव त्रिपाठी र निजगढकी कवयत्री सरु बस्नेत सम्मिलित निर्णायक टोलीले उत्कृष्ट ४ वटा कविताको छनौट गरेको हो ।
प्रतियोगितामा दर्जनौं अप्रतियोगी कवि÷कवयत्रीहरुले पनि आफ्ना कविता वाचन गरेका थिए ।
नगरपालिका कार्यालयमा नगर उपप्रमुख सोममाया थिङ्गको अध्यक्षता भएको सो प्रतियोगिताको उद्धाटन कार्यक्रम मधेस प्रदेश सभा सदस्य मिना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उद्धाटन कार्यक्रममा नगर प्रमुख सुरथ पुरी, नगर कार्यपालिका सदस्य मनमाया तामाङ्ग, नेपाली काग्रेस निजगढ नगर सभापती नवराज तिमल्सिना, नेकपा एमालेकी अञ्जु नेपाल, जनमत पार्टीका मोजहर मन्सुर, नेकपा एसका निजगढ अध्यक्ष भिमसेन सापकोटालगायतले बोल्नुभएको थियो ।कार्यक्रमको संचालन निजगढ नगरपालिका योजना शाखाका अधिकृत अजय उप्रेतीले गर्नुभएको थियो ।
















