वीरगञ्ज– पथलैया औधोगिक क्षेत्रमा दुईसयभन्दा धेरै साना ठूला उद्योगहरु रहेका छन् ।प्रदूषणका विषयमा यी उद्योगहरुको सवालमा बेला बेलामा निकै कुरा उठ्ने गर्दछ । स्थानीयहरु आन्दोलनमा पनि उत्रने गर्दछन् फेरि एकाएक समस्या समाधान भए जसरी तैं चुप मैं चुप भएर बस्ने गर्दछन् । केही समयपछि फेरि त्यही विषयमा कुनै केही कुरा नमिलेको जसरी विवाद निस्कने गर्दछ । अहिले फेरि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले प्रदूषण फैलाएको भन्दै केही उद्योगहरुलाई चेतावनी दिएको छ ।

यो नौलो समस्या होइन । यस्तो समस्या बाराको जीतपुर र सिमरा क्षेत्रका नागरिकहरुले लामो समयदेखि झेल्दै आइरहेका पनि छन् तर अहिले आएर स्थानीय सरकारले तर्साउने काम गरेको छ । यसमा स्थानीय सरकारको केही अभिष्ट भएको गन्ध यसै पनि आउँछ तर स्थानीय सरकारको स्वार्थ पनि नहोला तर पनि बिना समय बिना कारण यसरी प्रदूषणको कुरा गर्नु भनेको चैं नियतमाथि प्रश्न गर्ने ठाउँ पनि आउछ नै ।

यो निश्चय छ कि उद्योगहरुले पनि बद्मासी गर्दैआएका छन । यो अहिले आएर देखिएको समस्या होइन । यस क्षेत्रमा वषौंदेखि यही समस्या छ । दोश्रो कार्यकालमा स्थानीय सरकारहरु छन् तर योबीचमा यी स्थानीय सरकार वा जनप्रतिनिधिहरुले के भूमिका निर्वाह गरे भन्ने कुरा महत्वपूर्ण हो ।

उद्योग बन्द गर्ने कुरा पनि ठीक होइन तर स्थानीयहरु पनि दूषित वातावरणमा बस्नुपर्ने अवस्था आउनु भनेको त झन ठीक कुरा होइन । उद्योग र स्थानीयहरुको समस्या समाधानका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने हो तर खोइ त यस्तो अभ्यास ? बरु यसमा नीति बनाउन आवश्यक छ । स्थानीय सरकारले समन्वय गर्न जरुरी छ, तर्साएर होइन ।

 

Leave a Reply