वीरगन्ज,पर्सामा असार ६ गतेसम्म निषेधाज्ञा जारी रहेकाले मंगलबारदेखि विद्यालय सञ्चालन गर्ने वीरगन्ज महानगरपालिकाको तयारी प्रभावित भएको छ । निषेधाज्ञाका कारण विद्यालयहरुले आन्तरिक तयारी गर्न समय अपुग भएकोले मंगलबारदेखि विद्यालय सञ्चालनमा समस्या देखिएको हो । जेठ २१ गते सूचना जारी गर्दै वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक तथा नीजी विद्यालयहरु मंगलबार (असार १ गतेदेखि) क्रमिक रुपमा खोलेर कक्षा ८ देखि १२ सम्मको कक्षा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको थियो ।
महानगरको सूचनामा मंगलबार असार १ देखि ७ गतेसम्म विद्यार्थी भर्ना लगायतका व्यवस्थापकीय तयारी गर्ने, असार ८ गते देखि १५ गतेसम्म भर्ना सप्ताह अन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने र असार १५ गतेपछि नियमित रुपले कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुचारु गर्ने उल्लेख छ । तर पर्सा जिल्लामा असार ६ गतेसम्म निषेधाज्ञा थपिएका कारणले महानगरपालिकाको निर्देशन अनुसार विद्यालयहरुले आन्तरिक तयारी गर्न समस्या भएको बताएका छन् । यसका साथै निषेधाज्ञाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी भने प्रभावित हुने उनीहरुले बताएका छन् ।
अर्कोतर्फ शिक्षकहरुले पनि कोभिडविरुद्धको खोप नलगाएसम्म विद्यालयमा नजाने अडान राख्दै आएका छन् । राजनीतिक दल सम्वद्ध विभिन्न विद्यार्थी संगठनले पनि विद्यालय खोले तालाबन्दी गर्ने धम्की दिएका छन् । यस्तो अवस्थामा महानगरपालिकाको विद्यालयहरु खोल्ने निर्णय कार्यान्वयनमा समस्या हुने देखिएको छ । तर वीरगन्ज महानगरपालिकाको शैक्षिक महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले भने अभिभावकहरुको सहमतिमा मात्रै विद्यालय संचालन गर्ने निर्णय भएको बताउनुभयो । उहाँले निषेधाज्ञा ६ गतेसम्म रहेपनि आन्तरिक व्यवस्थापन गर्न समस्या नभएको र अघिल्लो शैक्षिक सत्र समेत प्रभावित भएकाले आफूहरुले यो शैक्षिक सत्र प्रभावित होस् भन्ने नचाहेको बताउनुभयो ।
रौतहटमा विद्यालय सञ्चालन
रौतहट,रौतहटमा मंगलबारबाट विद्यालयहरु सञ्चालनमा आएका छन । नेपाल सरकारले असार १ गतेबाट नँया शैक्षिक सत्र शुरु गरेसँगै रौतहटका सम्पुर्ण निजी तथा सामुदयिक विद्यालयहरु सञ्चालनमा आएका हुन । नयाँ शैक्षिक सत्र अन्तरगत रौतहटका सम्पुर्ण विद्यालयहरुले विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउनबाट पठनपाठन सुरु गर्ने तयारी विद्यालयहरुको छ ।
रौतहटको चन्द्रपुर नगर क्षेत्रका सम्पुर्ण निजी विद्यालयहरुले मंगलबारबाट विद्यालय खोलेर विद्यार्थी भर्ना कार्यक्रमसहित डाटा आवधिक गर्नुका साथै पाठ्यपुस्तकको व्यबस्थापन गरेको जनाएको छ । तत्काल माथिल्लो कक्षाका विद्यार्थीहरु लक्षित अनलाइन कक्षा सञ्चालनको तयारीमा रहेको तर भौतिक रुपमा कक्षा सञ्चालनको सोच नबनाएको चन्द्रपुर नगर प्याब्सनका अध्यक्ष लोकबहादुर श्रेष्ठले बताउनुभयो । मुल्यांकन गर्न बाँकी रहेका एसईई सहितको नतिजा विद्यालयले सम्बन्धित ईकाइमा बुझाइसकेपछि साउन एक गतेदेखि पठनपाठन सुरु गर्ने कार्य तालिका बनेको सामुदायिक विद्यालयहरुले जनााएका छन । कोभिड–१९ का कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि सुरु भएको हो । नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार प्रसार गरी असार १ देखि भर्ना अभियान सुरु गर्ने संघीय सरकारको कार्यतालिका बनेको थियो । सोही कार्यतालिका अनुसार स्थानीय सरकारले असार महिनाभर भर्ना अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । भर्ना अभियानको समयावधिभित्र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइ सक्ने योजना रहेको चन्द्रपुर नगर शिक्षा शाखा अधिकृत दिपेन्द्र मण्डलको भनाइ छ । स्थानीय तहहरुले पनि विद्यार्थीको मुल्यांकन नतिजा सार्वजनिक गर्न र भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेका छन ।