पुष्पराज खतिवडा
बारा,बारा प्रहरीले लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले जीतपुरसिमरास्थित आधाभार जंगलबाट एक जना महिलालाई ८ किलोभन्दा बढी गाँजासहित पक्राउ गरेको हो ।
प्रहरीले बर्दिया मधुवन नगरपालिका वडा नम्बर ७ निवासी प्रियांका श्रेष्ठलाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताउनुभयो । पथलैयाबाट खटिएको प्रहरीको टोलीले उनलाई ८ किलो ५०० ग्राम लागु औषध गाँजासहित पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।

सडकको छेउमा शंकास्पदरुपमा उभिएको अवस्थामा जाँच गर्दा उनको झोलाभित्रबाट लागु औषध गाँजा बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यायको बाराको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।पछिल्लो समय गाँजा ओसार पसारमा महिलाहरुको प्रयोग हुने गरेको पाइएको छ । यसअघि पर्साका विभिन्न स्थानबाट लागु औषध गाँजासहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको थियो ।

















