निजगढ,टिपरले सडकमा खसालेको गिट्टीका कारण सडक दुर्घटनाको जोखिम बढेपछि जिल्ला ट्राफिक कार्यालय निजगढले पूर्वपश्चिम राजमार्गमा झाडुले बढारेर सफाइ गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार निजगढबाट गिट्टी लोड गरेर पश्चिमतर्फ गएको टिपरले गिट्टी खसालेपछि प्रहरीले बिहीवार राती निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) नजिकै पर्ने पूर्वपश्चिम राजमार्गको निजगढ–पथलैया सडकखण्डमा सफाइ गरेको हो ।

क्षमताभन्दा बढी गिट्टी लोड गरी जाने क्रममा गाडीबाट गिट्टी खसेको प्रहरीको अनुमान छ ।ट्राफिक प्रहरी कार्यालयका बाराका प्रमुख प्रहरी निरीक्षक दिपक केसीले रातको समयमा गिट्टी बोकेको टिपरको लापरबाहीका कारण सडकमा गिट्टी खसेको र दुर्घटना जोखिम बढेकोले झाडु प्रयोग गरेर गिट्टी हटाइएको बताउनुभयो ।

‘टिपरले सडकमा गिट्टी खसाल्दै जादा सडक नै अबरुद्ध हुने गरी गरेको पाइएपछि प्रहरी टोलीले तत्कालै सडक सफाइ गरेको हो,’ निरीक्षक केसीले भन्नुभयो । उहाँका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले सडक सफा गरी सवारी आवागमन सहज बनाएको छ ।सडकमा गिट्टी खसाल्ने उक्त टिपरको खोजी कार्य जारी रहेको ट्राफिक प्रहरीले जनाएको छ । तर, सडक क्षेत्रमा रहेका सिसिटिभि क्यामराहरू केही समयदेखि बिग्रिएका कारण घटनामा संलग्न टिपरको पहिचान गर्न मुस्किल परेको ट्राफिक प्रहरीले बताएको छ ।

Leave a Reply