काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नुभएको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।त्यस्तै, यही चैत १५ गते भएको घटनाबारे जानकारी दिनुहुँदै उहाँले यी सबै घटनाको मुल जिम्मेवार उहाँ हो, उहाँले लिनुपर्ने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट– शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ?’’
प्रधानमन्त्री ओलीले तीनकुले घटना सबै निन्दनीय र खेदजनक कार्य भएको बताउनुभएको छ । उहाँले यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुने जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीले सदनमा राख्नु हुने जानकारी पनि उहाँले दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘घटनामा संलग्नहरुमाथि छानबीन सुरु भएको छ । यसका योजनाकार को हुन् र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ । विस्तृत प्रतिवेदनपछि आउने मैले बताइसकेको छुु ।’’
त्यस्तै, केही दिनयता संसद अवरुद्ध छ । सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वभाविक हो । सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन रहेको प्रधानमन्त्रले बताउनुभयो ।

Leave a Reply