सिमरा,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १५ स्थित खमवा– मधुवन खण्डमा निर्माणाधिन पसाहा पुल बाढीले बगाएको छ ।दशैंअघि ढलान गरिसक्ने लक्ष्यसहित सम्पूर्ण काम सकेर ढलानको अन्तिम तयारी भइरहेका बेला असोज १२ गते पसाहा नदीमा आएको बाढीले पुल बगाएको स्थानीय राधेश्याम सहनीले जानकारी दिनुभयो ।
सडक विभागको लागतमा निर्माणाधीन उक्त पुल मेरिना कन्ट्रक्सन÷नेशनल इन्स्ट्रक्टर जेभीले ठेक्का लिएर काम गरिरहेको थियो । पुल निर्माण गरिरहेको मेरिना÷नेशनल जेभीका बालगोपाल कँडेलका अनुसार ढलान गर्न ठिक्क पारेको पुल बगाउँदा एक करोडभन्दा बढीको क्षति भएको जनाइएको छ ।
कलैया उपमहानगरपालिका र जिल्लाको करैयामाई गाउँपालिका जोड्ने उक्त पुल भत्कँदा स्थानीयबासी दुःखी बनेका छन् । कलैया उपमहानगरपालिका १५ का वडा अध्यक्ष भोरिक यादवले निर्माणाधीन पुल भत्कँदा ठेकेदार कम्पनीले नोक्सानी बेहोर्नुको साथै दशैंअघि नै पुलबाट आवत जावत गर्नपाउने आश बोकेर खुसी बनेका स्थानीयबासी निराश बनेका छन । निर्माणको अन्तिम अवस्थामा बाढीले बगाएपछि पुलको निर्माण कार्य सम्पन्न हुने समय अनिश्चित बनेको छ ।


















