गोकुल घोरसाइने
निजगढ,अहिले देशैभरी नै होलीको उमंग छाइरहेको छ । विभिन्न ठाउँमा आफ्नो परम्पारा अनुसार होली पर्व मनाईने गरिन्छ । असत्यमाथि सत्यको जित तथा रंगहरुको पर्वको रुपमा मनाउने होलीका बारेमा पछिल्लो पुस्ता त्यति जानकार पाईँदैन । धेरैले होलीको नाममा जथाभावी रंग दल्ने, फोहोर पानीको प्रयोग गरेर लोला हान्नेजस्ता विकृत क्रियाकलाप गर्ने गरेका छन । होली पर्व भनेको नशालु पदार्थ सेवन गर्ने, अशुभ खालको रंग दल्ने र लोला मात्रै हान्ने पर्व पो हो कि भन्ने भान पर्न थालेको छ, नयाँ पुस्तका धेरै मान्छेमा ।पर्वको बारेमा सर्वसाधारणमा बढ्दै गएको यो भ्रम र विकृति हटाउने उद्देश्यले निजगढ नगरपालिका ७ को सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयले विद्यार्थीलाई व्यवहारिक रुपमै जानकारी दिने उद्देश्यले परम्परागत बाजा गाजासहित विद्यालयमा शुक्रवार होली खेलेको छ ।

यसक्रममा होली गीत गाउने र बाजा बजाउने दुई जना अभिभावकलाई विद्यालयमै ल्याइएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहनु भएका अभिभावक बिरेन्द्र महतो, भुन्टु साह रौनियार तथा विद्यालयका प्रधानाध्यापक स्वर्णाकारले होलीमा मधेसका गाउँघरमा गाइने गीत तथा बाजा बजाएर सुनाउनु भएको थियो । बाजा गाजा सहित होलीको रंगमा प्रत्यक्षरुपमा रम्न पाउँदा विद्यार्थी निकै खुसी देखिएका थिए ।

विद्यार्थीहरुलाई होली पर्व, यसको महत्व, पर्वमा बजाईने बाजागाजा तथा गाईने गीतबारे जानकारी गराउने उद्देश्यले बाजा गाजासहित होली खेलिएको विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारले बताउनुभयो । किताबका पाठहरुमा विभिन्न पर्व तथा चाँडहरुका बारेमा पढाईँदै आएको भएपनि विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्न नपाउँदा सिकाइ प्रभावकारी हुन नसकेको अवस्थामा विद्यालयमा गरिएको कार्यक्रमले उनीहरुको व्यवहारिक सिकाईमा सहयोग पुग्ने प्रअ स्वर्णकारको भनाई छ ।
बाजा गाजा सहित खेलिएको होलीबाट आफूहरुले पर्वको सांस्कृतिक पक्षको बारेमा धेरै कुरा जानकारी पाएको विद्यार्थी अभिषेक पौडेल तथा हिमानी चौलागाईको भनाई छ । प्रतक्ष्यरुपमा होली गीत र संगीत सुन्न पाउँद सिकाइ कार्य सहज भएको विद्यार्थीहरुले बताएका छन ।
नेपालका प्रायः सबै ठाउँमा खेलिने होलीलाई मधेसी समुदायमा विशेष महत्वका साथ लिने गरिन्छ । अहिले होलीको नाममा विकृृत बढिरहेको बेला यसको वास्तविकताबारे विद्यार्थीलाई जानकारी दिईएको विद्यालयका अर्का शिक्षक हरिशरण सुवेदीको भनाई छ ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो । उनीहरुले अत्यन्त शालीन ढङ्गले एक अर्कालाई अबिर लगाएर परस्परमा होली पर्वको शुभकामना साटासाट थिए ।

Leave a Reply