कलैया,बाराको गढीमाई मन्दिर परिसरमा तोडफोड गर्ने व्यक्तिहरुलाई तत्काल कारबाही गर्न माग गर्दै राष्ट्रिय समता पार्टी नेपालले सोमवार गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ ।समता पार्टीका अध्यक्ष विजयप्रकाश निषादको नेतृत्वमा पार्टीका महासचिव अभिषेक तिवारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्रबहादुर श्रेष्ठसहितको टोलीले गृहमन्त्री लेखकलाई सोमवार काठमाण्डौंमा भेटेर मन्दिर तोडफोड गर्नेको शीघ्र पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेको हो ।
पार्टी महासचिव तिवारीद्वारा प्रकाशित विज्ञप्तिमा माघ ३ गते बिहीबार राति करिब १० बजे आपराधिक मानसिकता बोकेका केही अराजक जत्थाले भाकल स्वरूप मन्दिरमा छाडिएका परेवा चोर्ने र लुटपाट गर्ने अभिप्रायले गढीमाई मन्दिर परिसरभित्र छिर्दा त्यहाँ खटिएका महागगढीमाई नगरपालिकाका नगर प्रहरीले रोकेपश्चात् नगर प्रहरीसँग झडप गरी हातपात भएको उल्लेख गरिएको छ ।
साथै, शुक्रवार बिहान पुनः सुनियोजित तवरले केही अराजक जत्था गढीमाई मन्दिर परिसरभित्र छिरेर मन्दिर परिसरमा रहेको दान पेटिका र पङ्खाहरू तोडफोड र चरम उदण्डता प्रदर्शन गरेको दृश्यहरू सिसिटिभी फुटेजबाट देखिएको जनाइएको छ ।विज्ञप्तिमा विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरिएको तोडफोड तथा उदण्डताविरुद्ध तत्काल कारबाही गर्न सरकारसंग माग गरिएको छ ।