वीरगन्ज,विभिन्न ३४ सूत्रीय माग राखी आन्दोलनरत शिक्षकहरुले शुक्रबार भौतिक उपस्थितिमा नै देशैभरका पालिका, शिक्षा विकास तथा समन्वय इकाई कार्यालयहरूमा रिले अनशन गरिरहेका छन् । यसैक्रममा पर्सामा पनि शिक्षकहरुले अनसन गरेका छन ।
कोरोनाको कारण समूहगत रुपमा नभइ जुम मिटिङ हुँदै सरकारसँग आफ्ना माग प्रस्तुत गर्दा पनि अटेर गरेपछि बाध्य भएर फिल्डमा नै उत्रनु परेको आन्दोलनको र चौथो चरणको आन्दोनलनको अन्तिम दिन शुक्रबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म रिले अनशन गरेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले बतानुभयो ।
केपी शर्मा ओली नेतृत्वको सरकारको पालाबाट ३४ सूत्रीय माग राखी संघर्षरत शिक्षकहरू देउवा नेतृत्वको सरकारको पालामा भने भौतिक उपस्थितिमा नै रिले अनशनमा बसेका हुन । ३४ सूत्रीय मागमध्ये एउटा माग मात्र शंवोधन भएको शिक्षकहरुले बताएका छन । शिक्षकलाई पनि खोप दिनु पर्ने उनीहरुको एउटा माग सरकारबाट सम्बोधन गरेको हो ।
बाँकी ३३ वटा माग भने सम्बोधन नभएपछि आन्दोलनलाई निरन्तरता दिनु परेको अध्यक्ष यादवले बताउनुभयो । बाल कक्षाका शिक्षकको तलब वृद्धि, राहत शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धा गराइ स्थायी गरिनुपर्ने, स्थायी शिक्षकहरुलाई पनि बढुवाको व्यवस्था, राष्ट्रसेवक अन्य कर्मचारी सरह शिक्षकहरुलाई पनि अस्पताल, पर्यटन र विदा खर्चको व्यवस्था हुनु पर्ने, संघीय शिक्षा ऐन यथाशीघ्र जारी हुनुपर्ने, शिक्षामा भएको अन्यौलताको चाँडो अन्त्य तथा रिक्त रहेका शिक्षक दरबन्दीमा पदपुर्ति जस्ता शिक्षासँग सम्बन्धित मागहरु राखेर आफूहरु आन्दोलनमा होमिएको शिक्षक महासंघ नेपालले जनाएको छ ।