बसन्त लामा
सिंगौल,माघेसंक्रान्तिको अवसरमा आयोजना गरिएको प्रथम सिंगौल खुल्ला नकाउट फुटबल प्रतियोगिता सोमवारबाट सुरु भएको छ ।सोमवारको उद्धाटन खेलामा आयोजक वनदेवी युवा क्लब सिंगौललाई पराजित गर्दै निजगढ नगरपालिका वडा नम्बर ६ को नमोबुद्ध युवा क्लब विजयी भएको छ ।

खेलमा सुरुवाति अग्रता बनाएको वनदेवीलाई नमोबुद्धले ३-१ गोलले पराजित गरेको छ । प्रतियोगितामा निजगढ नगरपालिकाका १२ वटा फुटबल टोलीको सहभागिता रहेको छ ।सिंगौलस्थित वनदेवी युवा क्लबको आयोजना तथा निजगढ नगरपालिका वडा नम्बर २ को वडा कार्यालय र श्रीकृष्ण डेरी उद्योग निजगढ ७ को सहयोगमा संचालन भएको प्रतियोगिता निजगढ २ स्थित लोकप्रिय आधारभूत विद्यालयको खेल मैदानमा भइरहेको छ । प्रतियोगितामा विजयी टोलीले नगद ५० हजार र ट्रफी पाउनेछन भने उपविजेताले २५ हजारसहित ट्रफी प्राप्त गर्नेछन ।

यसअघि फुटवल प्रतियोगिताको उद्धाटन वडा नम्बर २ का वडा अध्यक्ष राजन श्रेष्ठले गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा स्थानीय कलाकार निशा मगरेले नृत्य प्रस्तुत गरेकी थिइन ।मंगलवारको खेल समाजसुधार युवा क्लब र ओवाइसी टाँगियावस्तीबीच हुनेछ ।प्रतियोगिताको माघ १ गते अर्थात माघेसंक्रान्तिमा समापन हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply