सर्लाही,सर्लाहीको गोडैता नगरपालिका– २ जयपुरस्थित श्री आधारभूत विद्यालयका अभिभावकहरुले प्रधानाध्यापक र शिक्षकहरूलाई कार्यालयमा थुनेर तालाबन्दी गरेका छन ।विद्यालयको पठन पाठन र व्यवस्थापनमा देखिएको अनियमितता र शिक्षकहरूको व्यवहारप्रति असन्तुष्टि जनाउँदै स्थानीय अभिभावकहरुले बुधवार विद्यालयका शिक्षकहरूलाई कार्यालय कोठामा थुनेर बाहिरबाट ताल्चा लगाएका छन् ।

प्रधानाध्यापक गर्भु महतोमाथि विद्यालय व्यवस्थापन समिति गठन नगरी आफूखुसी निर्णय गरेको, नगरपालिकाले उपलब्ध गराएको छात्रवृत्ति, दिवा खाजा र अन्य सुविधाको रकम हिनामिना गरेको आरोप लगाएका छन । विद्यालयको आय व्यायको हिसाब–किताब माग्दा पनि प्रधानाध्यापकले बेवास्ता गरेको अभिभावकहरूको गुनासो छ ।
विद्यालयको समस्याबारेमा छलफल गर्न स्थानीयहरू बुधवार बिहान १० बजे विद्यालयमा भेला भएका थिए । सोही क्रममा प्रधानाध्यापक महतो विद्यालयमा अनुपस्थित रहेको भन्दै आक्रोशित उनीहरुले बाँकी शिक्षकहरूलाई कार्यालयमा नै थुनेर ढोकामा ताल्चा लगाएका हुन् ।
विद्यालयमा विभिन्न सङ्घ–संस्थाबाट उपलब्ध गराइएको सामग्रीहरू लक्षित विद्यार्थीलाई वितरण नगरी शिक्षकहरुले आफैँले घरघरमा लगेको आरोप पनि स्थानीय अभिभावकहरुले लगाएका छन् । भेलामा उपस्थित भएका अभिभावकहरुले प्रधानाध्यापक गर्भुलाई पटक–पटक सम्पर्क गर्दा पनि विद्यालयमा उपस्थित नभएपछि उनीहरुले शिक्षकहरुलाई कार्यालयमै थुनेर ताला लगाएको बताएका छन् ।
शिक्षकहरूलाई कार्यालयमा थुनेको खबर पाएपछि विद्यालयमा पुग्नुभएका गोडैता नगरपालिका– २ का वडा अध्यक्ष अजय साहले बोलाउँदा पनि प्रधानाध्यापक विद्यालयमा नआएकोभन्दै अभिभावकहरु आक्रोशित बनेका थिए ।वडा अध्यक्ष साहले अभिभावकहरुसँग वार्ता गरेर समस्या समाधानका प्रयास गरिरहेको र विद्यालयको व्यवस्थापनमा सुधारका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता जनाउनुभएको छ ।



















