राजकुमार यादव
मौलापुर,रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजयप्रकाश जैसवालले आफ्नो निजी चिनी मिल संचालन गर्न नगरपालिका कार्यालयको इन्धन प्रयोग गरेको आरोप लागेको छ ।नगरपालिकामा कार्यरत कार्यालय सहयोगी रामाकान्त पटेलले नगर प्रमुख जैसवालको आफ्नो बुबाको नाममा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज (चिनी उद्योग) मा नगरपालिकाको इन्धन प्रयोग भएको बताउनुभएको हो । कार्यलय सहयोगी पटेलले चिनी उद्योगका दर्जनौं ट्रेक्टरहरुमा नगरपालिकाले दिएको डिजेल भर्दै गरेको भिडियोे सार्वजनिक गर्नुभएको छ ।कार्यालय सहयोगी पटेलले पोष्ट गरेको सो भिडियो अहिले सामाजिक सन्जाल फेसबुकमा भाइरल बनेको छ । मेयर जैसवालले हालको एक वर्षको कार्यकालमा ईन्धन खर्चको नाउँमा ६७ लाख खर्च गरेको नगरपालिकाकी उपमेयर रितादेवी यादवका श्रीमान जवाहर यादवले सार्वजनिक गर्नुभएको छ ।त्यसैगरी उहाँले सवारीसाधन मर्मतमा २५ लाख, नास्तामा १९ लाख ८३ हजार ९३ रुपैया, विभिन्न योजनाको डिपिआर शीर्षकमा ७५ लाख ६२ हजार २९८ र कर्मचारीलाई प्रोत्साहन भत्ताको नाउँमा १२ लाख रुपैयाँ खर्च भएको विवरण छन । कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले तेल खर्चमा झन्डै ६८ लाख खर्च छुट्याइएको स्वीका गर्दै अन्य शीर्षकमा भने केहि तलमाथि हुने बताउनुभएको छ । डिपिआर शीर्षकमा ५० लाख रुपैयाँ मात्र छुट्याएकामा उक्त शीर्षकमा ७५ लाखभन्दा बढी रकम खर्च भएको उहाँले बताउनुभएको छ ।मेयर जैसवालले इन्धन खर्चबापत ६८ लाख देखाईएको उक्त तेल पूर्वमेयर सियाराम कुशवाहाको पालाको बक्यौता समेत रहेको बताउनुभएको छ । उहाँले पूर्वमेयर कुशवाहाको पालको २० लाख रुपैया पनि समावेश भएको जिकिर गर्नुभएको छ । तर कटहरिया ४ का वडाध्यक्ष चन्दन कुशवाहाले पूर्वमेयर कुशवाहाको पालाको तेलको खर्च यसअघि नै भुक्तान भइसेको बताउनुभएको छ । उहाँले मेयर जैसवालका पिता ओमप्रकास जैसवाल गत संसदीय निर्वाचनमा चुनाव लड्दा खर्च भएको इन्धनको सबै रकम नगरपालिका कोषबाट मिलाइएको दाबी गर्नुभएको छ ।


















