सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाले नगरका सामुदायिक र संस्थागन विद्यालयहरुमा बैशाख ७ गतेदेखि विद्यार्थी भर्ना अभियान र बैशाख १४ गतेदेखि विद्यालयहरुमा नियमित पठनपाठन शुरु गर्न परिपत्र गरेको छ ।
नगर प्रमुख राजन पौडेलले आज एउटा सूचना निकालेर संघीय सरकारको परिपत्रअनुसार बैशाख १५ गतेबाट भर्ना अभियान र बैशाख २१ गतेबाट मात्रै पठनपाठन संचालन गर्दा पाठ्यक्रम अनुसारको वार्षिक कार्यघण्टा नपुगी शिक्षाको गुणस्तरमा हास आउनेभन्दै विद्यार्थी भर्ना र अध्ययन अध्यापन शुरु गर्न नगरका सामुदायिक र संस्थागत विद्यालयहरुलाई निर्देशन दिनुभएको हो । सूचनामा सरोकारवालाहरुको अनुरोधको आधारमा यस्तो निर्णय गरेर परिपत्र गरिएको जनाइएको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा यस उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना अभियान संचालन गर्ने र वैशाख १४ गतेदेखि विद्यालयमा बिहान १० बजेदेखि ४ बजेसम्म शनिवार र आइतवार बाहेकका दिनमा नियमित अध्ययन अध्यापन संचालन गर्ने भनिएको छ ।
सूचनामा अडाडि भनिएको छ– ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरको पत्रानुसार २०८३ को भर्ना अभियान वैशाख १५ गतेबाट शुरु हुने र २०८३ वैशाख २१ गतेबाट पठनपाठन सुरु हुने भनि सबै स्थानीय तहलाई पत्राचार भएको भएपनि यस उपमहानगरपालिकाका विभिन्न सरोकारवालाहरुबाट वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि अध्ययन अध्यापनको कार्य गर्दा विद्यार्थीहरुको अध्ययन अध्यापनमा अवरोध हुने, पाठ्यक्रम अनुसारको वार्षिक कार्यघण्टा नपुगी शिक्षाको गुणस्तरमा हास हुने, विद्यालयमा अध्ययन अध्यापन हुने दिन नपुग्ने हुँदा विद्यालयमा यथाशिघ्र विद्यार्थी भर्ना र अध्ययन अध्यापन सुचारुका लागि अनुरोध भई आएकोले यस उपमहानगरपालिकाको वैशाख ३ गतेको नगर प्रमुख स्तरीय निर्णयानुसार सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा नगरपालिकाको निर्णय अनुसार विद्यार्थी भर्ना तथा अध्ययन अध्यापन गर्नु गराउनु हुन जानकारी गराइन्छ ।’


















