बाराको महागढीमाईमा रहेको प्रसिद्ध र पवित्र धार्मिकस्थल गढीमाईमा अहिले पञ्चवर्षीय मेला लागिरहेको छ ।
हरेक पाँच पाँच वर्षमा लाग्ने यो मेला यसपालि मंसिर महिना लागेपछि शुरु भएपनि औपचारिक रुपबाट भने गएको सोमवारबाट मात्र शुरु भएको हो । पाँच वर्षमा मेला लाग्ने गढीमाईको धार्मिक र सांस्कृतिक महत्व छ । एक महिना मेला लाग्ने भएकाले पनि यो मन्दिरमा दर्शन गर्न आउनेहरुको संख्या अधिक हुने गर्दछ र यसले धार्मिक पर्यटकलाई त यसैपनि प्रोत्साहन गरेकै छ । गढीमाईमा लाग्ने यो मेलाको धार्मिक महत्व भने अझ रोचक पनि छ ।

तर,यहाँ धार्मिक महत्व र आस्थाको कुरा गर्न खोजिएको होइन । मानिसको आस्थालाई कसैले चाहेर पनि मेटाउन सक्दैन तर गढीमाईको विकास जसरी हुनुपर्ने त्यसरी भएको छैन । मेला शुरु भएपछि अहिले गढीमाईमा नीति बनाउने ठाउँमा रहेका नेताहरुको लर्को नै लागिरहेको छ ।त्यसो त बाराका नेताहरु मात्र होइन यस क्षेत्रका नेताहरु भने गढीमाईबाट अनविज्ञ पनि छैनन् तैपनि जब मेलाको समय आउछ नेताहरु आएर यसो गर्छु, उसो गर्छु भनेर जनतालाई आश्वासन दिन्छन् तर त्यसपछि फेरि कुनै वास्ता गर्दैनन ।
हुनत विगतको तुलनामा अहिले गढीमाईमा केही नभएको पनि होइन । विकास पनि भएको छ । परिवर्तन पनि भएको छ । दश ववर्षअगाडिको मेला लाग्ने शैली र यसपालीको फरक पनि छ तर गढीमाई क्षेत्रको पर्याप्त विकास भएको छैन । मन्दिरकै विकास पनि भएको छैन । यसलाई अझै व्यवस्थित बनाउन आवश्यक छ । यसलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न पनि आवश्यक छ । यो नेपाल मात्र नभइ लगभग दक्षिण एसियाकै भक्तजनहरुको आस्थाको केन्द्र हो भन्दा पनि फरक पर्दैन अनि यो स्थानको खोइ त ध्यान र ख्याल ?

















