बैंकहरुले चर्को ब्याज बढाएको आरोप लागेपछि चैत १ देखि ब्याजदर नबढाउन बैंक तथा वित्तीय संस्थाले सहमति गरेका छन् । तर, यसअघि बैंक तथा वित्तीय संस्थाले ब्याजदर उच्च वृद्धि गरेको भन्दै उद्योगी, व्यवसायीलगायत अन्य ऋणीहरूले लगातार प्रदर्शन पनि जारी छ ।उद्योगी व्यवसायीले सरकार र नेपाल राष्ट्र बैंकको पटक–पटक ध्यानाकर्षण गराउँदै आए पनि अझै यसको समाधान हुन सकेको छैन । उद्योगी व्यवसायीले तत्कालका निम्ति सडक आन्दोलन स्थगित गरे पनि ब्याजदर घटाउन लबिङ भने जारी राखेका छन् ।खासगरी ब्याजदर वृद्धिकोे विरोध उद्योगी व्यवसायीले मात्र होइन अन्य समूहले पनि गर्दै सडक आन्दोलनसमेत गरिरहेका छन् । उद्योगी व्यवसायीको आन्दोलन र लघुवित्त वा अन्य कुनै नाममा भइरहेका आन्दोलनको प्रकृति र उद्देश्य फरक रहेको देखिन्छ । तथापि, बैंक तथा वित्तीय संस्था लक्षित आन्दोलन भने देशभर भइरहेको छ । अहिले भइरहेको आन्दोलन ब्याजदर घटाउने, अर्थतन्त्रलाई स्थायित्व बनाउने मात्र हो कि केही समूहको अन्य स्वार्थ पूरा गर्नका निम्ति हो भन्ने स्पष्ट छैन ।कतिपय ठाउँमा आन्दोलन हिंस्रक बन्दै गएको विभिन्न घटनाक्रमले देखाएको छ । यो क्रम क्रमशः बढ्दै जाने हो कि भन्ने आशंका पनि उब्जाएको छ । आन्दोलनका नाममा हुने गलत क्रियाकलापतर्फ सबै सचेत हुन जरुरी छ ।साथसाथै उठेका जायज मागलाई सरकार, नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरूले पनि सम्बोधन गर्न गम्भीर पहलकदमी लिनुपर्ने आवश्यकता छ । बैंकले पनि आफ्नो र आफ्ना ग्राहकहरुको फाइदा सोच्छ नै अनि व्यवसायीहरुले पनि केही व्यवसायीहरुको भने नियत नै खराब छ । यो आन्दोलनको नाउमा सबै ब्याज मिनाहा होस् भन्ने पनि छ त्यसैले सरकार, बैंक तथा व्यवसायी मिलेर सबैलाई फाइदा हुने उपाय निकाल्न आवश्यक छ ।














