निजगढ,अवकास लिएका स्वर्यसेविकाको सम्मानसहित निजगढ नगरपालिकाले बिहीवार २१औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।सो अवसरमा नगरपालिका कार्यालयले नगरका विभिन्न वडामा कार्यरत ३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई गरेको हो । नगर प्रमुख सुरथ पुरीले उनीहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।हरेक वर्ष अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा डिसेम्बर ५ तारिखमा मनाइने यो दिवस निजगढ नगरपालिकाले पनिमनाएको हो ।

‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ मनाइएको सो कार्यक्रममा बोल्दै नगरप्रमुख पुरीले स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले सिमित स्रोत साधन र परिश्रमिकका बाबजुद महिला स्वयंसेविकाहरुले उल्लेखनीय कार्य गर्दैआएको बताउनुभएको थियो । कार्यक्रममा उपप्रमुख सोममाया थिङले गाउँगाउँमा बसेर जनताको सेवा गर्ने स्वयंसेविकाहरु नै देशको सच्चा स्वयमं सेवकको रुपमा रहेको बताउनुभयो ।

निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नम्बर १२का अध्यक्ष ज्ञानबहादुर गोले, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायत नगरपालिकका कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थित रहेको थियो।

महिला स्वास्थ्य स्वयंसेविका मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पु¥याउने उद्देश्यले वि.सं २०४५ सालदेखि यो कार्यक्रम शुरू भएको हो । सरकारले हरेक वडामा कम्तीमा एक जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत हुनुपर्ने व्यवस्था गरेको छ ।स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्यमा योगदान पु¥याउँदै आएका छन् ।विशेषतः मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन स्वास्थ्य, परिवार योजना आदि विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफलमार्फत जनस्वास्थ्यसम्बन्धी सूचना तथा सेवाहरुको पहुँचमा वृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन उनीहरुले काम गर्दै आएका छन् ।

Leave a Reply