कलैया,बारा जिल्लाको कलैया उपमहानगरपालिका– १३ बलिरामपुरस्थित निर्माणाधीन पानी ट्याङ्कीमा पासो लगाएर झुन्डिएका एक जना भारतीय नागरिकको सशस्त्र प्रहरी बलको सक्रियताले जीवितै उद्धार गरिएको छ ।
करिब ४० वर्षीय भारतीय नागरिक धिरेन्द्र चौधरी शनिवार बिहान निर्माणाधिन झन्डै ३४ मिटर अग्लो पानी ट्याङ्कीको ओभर हेडमा झुन्डिएको अवस्थामा फेला परेका थिए । चौधरीसँगै काम गर्ने सहकर्मीले पासो खोल्न प्रयास गरे पनि उद्धार गर्न नसकेपछि स्थानीय बासिन्दालाई खबर गरेका थिए ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण बारा र सीमा सुरक्षा गुल्म मटिअर्वाबाट उद्धार टोली तुरुन्त खटिएर आवश्यक उपकरणको सहायताले चौधरीलाई सकुशल उद्धार गरेको छ ।
चौधरीको हाल कलैयास्थित राज्यलक्ष्मी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । चौधरीले पासो लगाउनुको कारण भने खुल्न सकेको छैन ।




















