कलैया,गढीमाई मेलाको क्रममा देखापर्ने समस्या समाधान गर्नको लागि मेला व्यवस्थापन समिति र स्थानीय प्रशासनबीच नियमित छलफल हुने भएको छ ।मेलालाई व्यवस्थित रुपमा सफल पार्न शनिवार बेलुका महागढीमाई नगरपालिकाको सभाहलमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र मेला ब्यवस्थापन मुल समितिका पदाधिकारीहरुबीच बृहत छलफल कार्यक्रममा समिति र स्थानीय प्रशासनबीच सहकार्य गरेर काम गर्ने सहमति भएको हो ।
गढीमाई मेलामा उत्पन्न हुने समस्या हल गर्न बाराका प्रजिअ अधिकारी र मेला व्यवस्थापन मुल समितिबीच प्रत्येक दिन नियमित छलफल गरिने आपसी छलफलबाट समस्या समाधान गरिने सहमति भएको समितिका अध्यक्ष एवंम गढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले बताउनुभयो ।मुल समिति वा उपसमितिका कुनै पदाधिकारीहरुले कुनै अवाञ्छित गतिविधि गरेको पाइए कानुनी कारबाही पनि गरिने पनि उहाँले बताउनुभयो । ‘अनाधिकृत रुपमा समितिका मान्छेले कुनै व्यपारीसंग पैसा लिएको प्रमाण भेटिए कारबाही हुन्छ, उहाँले भन्नुभयो, त्यस्तो कार्य गर्नेलाई प्रहरीको जिम्मा लगाएर कानुनी कारबाही हुन्छ ।’
मेला संचालनको लागि गठन गरिएको उपसमितिका सबै सदस्यहरुले २४सैं घण्टा मेला मुल समितिको कार्यालयमै बसेर व्यवस्थापनको काममा सरिक हुनुपर्नेमा अध्यक्ष यादवले जोड दिनुभएको थियो । उहाँले मेला परिसरमा अहिले पनि विधुतीकरण सम्बन्धि समस्या रहेकोले त्यसको समाधानको लागि विधुत कार्यालयका प्रमुख र प्राविधिकहरुलाई निर्देशन दिन नगरप्रमुख यादवले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसंग आग्रह गर्नुभएको छ ।समितिकोतर्फबाट नेपाल बिधुत प्राधिकरण कलैया शाखामा १८ लाख रुपैयाँ धरौटी राखेपनि मेला परिसरमा विधुतको समस्या अझै हल नभएको उहाँले गुनासो गर्नुभएको थियो ।
त्यसैगरी बैठकमा गढीमाई मेलामा उत्पन्न हुने समस्यालाई आपसी छलफलमार्फत समाधान गर्ने गरि प्रशासनले समेत काम गर्ने प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताउनुभयो । उहाँले मेला समितिका सबै पदाधिकारीहरुले एकतावद्ध भएर मेला सफल पर्ने काममा हातेमालो गर्नुपर्नेमा जोेड दिनुभयो । मेलाको व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने गरी काम गर्न मेला मुल समिति र उपसमितिका संयोजक र सदस्यहरुलाई प्रमुख जिल्ला अधिकारी अधिकारीले निर्देशन दिनुभएको थियो ।


















