निजगढ,सामुदायिक वन दिवसको अवसरमा बिहीवार निजगढ ६ को जनसृजनशील वन उपभोक्ता समुहको वनमा वृक्षारोपण गरिएको छ ।डिभिजन वन कार्यालय बारा, सामुदायिक वन उपभोक्ता महासंघ बारा र जनसृजनशील वन उपभोक्ता समुहको आयोजनामा भएको सो कार्यक्रममा बोल्दै निजगढ नगरपालिकका प्रमुख सुरथ पुरीले वन संरक्षणको लागि सामुदायिक वन समुहहरुले महत्वपूर्ण योगदान गर्दैआएको बताउनुभयो । उहाँले सरकारद्वारा व्यवस्थित वनभन्दा स्थानीय समुहले व्यवस्थापन गरेको वनको हैसित राम्रो भएको बताउनुभएको हो । ‘समुहमार्फत व्यवस्थापन थालिएपछि वनको हैसियत फेरिएको छ, नगर प्रमुख पुरीले भन्नुभयो, चोरी तस्करी, डढेलो र चरिचरण नियन्त्रण जस्ता कार्यले वनमा सुधार आएको छ ।’ उहाँले अब संरक्षणसंगै वनलाई उपभोक्ताहरुको आय आर्जनमा पनि उपयोग गर्नुपर्ने बताउनुभयो । ‘वनको सही व्यवस्थापन गरेर यसलाई आयआर्जनमा प्रयोग गर्नुपर्छ, नगर प्रमुख पुरीले भन्नुभयो, वन सम्पदालाई उपभोक्ताको सम्वृद्धिसंग जोडन जरुरी छ ।’सोही कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले नेपालका सामुदायिक वन विश्वमा नै अनुकरणीय रहेको बताउनुभयो । ‘नेपालको सामुदायिक वन संरक्षणको पद्दति विश्वमा नै चर्चित छ, उहाँले भन्नुभयो, यसको अध्ययन अनुसन्धान गर्न विदेशबाट पनि वर्षेनी हजारौं विद्यार्थी नेपालमा आउने गरेका छन ।’सामुदायिक वनकै कारण नेपालमा वन क्षेत्रको वृद्धि भएको पनि जानकारी दिनुभयो । वन क्षेत्र विस्तार भएर ४५ प्रतिसतसम्म पुग्नुमा अन्य पक्षको भन्दा सामुदायिक वनको भूमिका बढी महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।उहाँले आफूहरुले गरेका कामहरुको अभिलेख राख्न पनि वन समुहहरुलाई सुझाव दिनुभएको छ । ‘तपाईहरुले पनि वन संरक्षण र आय आर्जनमा धेरै महत्वपूर्ण काम गर्नुभएको छ, डिएफओ सिंहले भन्नुभयो, तर अभिलेखको अभावमा धेरै कुरा ओझलमा परेका छन ।’ उहाँले वन समुहभित्र सुशासनको जरुरी रहेको पनि बताउनुभयो । यसको लागि समुहभित्र सहभागिता, पारदर्शिता र लोकतान्त्रिक पद्दति अपनाउनु पर्नेमा उहाँको जोड थियो ।जनसृजनशील वन उपभोक्ता समुहका अध्यक्ष एवंम सामुदायिक वन निजगढ नगर संघका अध्यक्ष कुशबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाकी प्रमुख सोममाया थिङ्ग, वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईलगायतले बोल्नुभएको थियो । कार्यक्रममा वन उपभोक्ता महासंघकी केन्द्रीय दुर्गा कोइराला, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, निजगढमा रहेका विभिन्न सामुदायिक वन समुहका अध्यक्ष एवंम पदाधिकारीहरु र वन कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।सोही कार्यक्रममा समुहको वन क्षेत्रमा २ सयभन्दा विरुवा रोपिएको थियो ।



















