राजकुमार यादव
मौलापुर,रौतहटको बौधीमाई नगरपालिकामा बजेट पेस गर्ने दिन वडाध्यक्षहरू विरोधमा उत्रेपछि नगरसभा स्थगित भएको छ ।बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवले सोमबार नगरपालिकाको सभाकक्षमा नवौँ नगर अधिवेशन आह्वान गर्नुभएको थियो । उपमेयर प्रमिला देवी जयसवालसहित बहुमत कार्यपालिका सदस्यले नगरसभा बैठक बहिष्कार गरेका हुन् ।
मेयर यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै नगर उपप्रमुख प्रमिला देवीको रोहबरमा वडा नम्बर १ का वडाध्यक्ष रामजोधी पटेल, वडा नम्बर २ का वडाध्यक्ष धर्मेन्द्र पटेल, वडा नम्बर ३ का वडाध्यक्ष मनिभुषण साह, वडा नम्बर ७ का वडाध्यक्ष नरेन्द्र कुशवाहा र वडा नम्बर ९ का वडाध्यक्ष मुक्तिनरायण मिश्रा सहित ३४ जना कार्यपालिका बहुमत सदस्यहरुले सभास्थलमा नारा जुलुससहित नगर अधिवेशन बहिष्कार गरेका हुन् ।बहुमत सदस्यसहित विरोधमा उत्रिएका कार्यपालिका सदस्दयहरुले सूचनाको हक दर्ता गराए पनि नगर प्रमुख यादवले विभिन्न शीर्षकको खर्चसहितको सूचना दिन इन्कार गरेकोले कार्यापालिका सदस्यहरुले सभा बहिष्कार गरेको कार्यपालिका सदस्य विहारी ठाकुरले जनकारी दिनुभयो ।सहकर्मी राजकुमार यादवसंगको कुराकानीमा वडा नम्बर ९ का वडाध्यक्ष मुक्तिनरायण मिश्राले राजस्व परामर्श समिति छलफल, बजेट तर्जु, अनुमानित बजेटको जानकारी, बजेट निर्धारण बारे जानकारी जस्ता विषयवस्तु लुकाई छिपाई एकलौंटी ढंगले नगर प्रमुख यादव नगर सभा गर्न लागेको बताउनुभएको छ ।
















