कलैया,स्थानीय तह उपनिर्वाचनमा मधेस प्रदेशका विभिन्न ७ वटा वडामा वडा अध्यक्ष पदका लागि ६ जना महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन्।वडा अध्यक्षको लागि ९७ पुरुषले उम्मेदवारी दिँदा ७ जना महिलाले मात्रै उम्मेदवारी दिएका हुन । आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मधेस प्रदेशका ४ जिल्लाका ६ स्थानीय तहमा ७ वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदै छ।
आयोगका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसबाट भूलिया देवी थरुनी, धनुषाधाम नगरपालिका १ मा बहुजन एकता पार्टी नेपालकी प्रमिलाकुमारी सदा र राष्ट्रिय जनता पार्टी नेपालकी लक्ष्मिनीया देवीले उम्मेदवारी दर्ता गराएकी हुन्।यस्तै, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रकी आइतीकुमारी यादवले उम्मेदवारी दिनुभएको छ । उहाँ यसअघिका स्वर्गीय वडा अध्यक्षका श्रीमती हुन्।
यस्तै, रौतहटको गढीमाई नगरपालिका ८ को वडा अध्यक्षका लागि नेकपा एमालेको तर्फबाट जीउती देवी यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ भने राजपुर नगरपालिका ६ को वडा अध्यक्षका लागि नजमा खातुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । । गढीमाईकी जीउती पनि स्वर्गीय वडा अध्यक्षकी श्रीमती हुन ।
सप्तरीको डाक्नेश्वरी ४ र रौतहटको ईशनाथ नगरपालिका ७ मा एकजना महिलाको पनि उम्मेदवारी परेको छैन। ७ वडा अध्यक्षका लागि ४७जना स्वतन्त्र र ५६ जनाले विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएको आयोगले जनाएको छ।


















