पर्सा । रसुवाको भोटेकोसीमा आएको बाढीपछि पर्सा, बारा, सर्लाही तथा भारतका गरी ३९ जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको प्रशासनले जनाएको हो। सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा विभिन्न जिल्लाका नागरिक तथा भारतीय नागरिकसमेत छन्।
प्रशासनका अनुसार सूचीमा रहेका ज्ञानबहादुर खत्री र श्यामलाल मोत्तन भने सम्पर्कमा आइसकेका छन्। अन्य व्यक्तिको अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गरी खोजी तथा विवरण संकलन भइरहेको छ। प्रशासनले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। बाढीका कारण रसुवाको भोटेकोसी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।















