वीरगञ्ज,मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतको अयोध्याधाममा आयोजित भगवान् श्रीरामको तिलकोत्सव समारोहमा सहभागी भएर राम मन्दिर ट्रस्टका महासचिव चम्पत रायलाई जनकपुरधाममा हुने विवाह पञ्चमी समारोहको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको छ ।विश्व हिन्दु परिषद् नेपालको धनुषा शाखाद्वारा आयोजित यस विशेष कार्यक्रममा मुख्यमन्त्री सिंहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्बन्धलाई स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विवाह पञ्चमीको परम्परा संरक्षण र प्रवर्द्धनमा नागरिक स्तरदेखि सरकारसम्म सबैको योगदान महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

मुख्यमन्त्री सिंहले नेपाल र भारतका जनताबिचको मित्रता र सांस्कृतिक आदान–प्रदानलाई विस्तार गर्न यस्ता कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण भएको र दुई देशका नागरिकले साझा संस्कृति र परम्पराको संरक्षण गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा राम मन्दिर ट्रस्टका महासचिव चम्पत रायले जनकपुरधाम र अयोध्या बिचको सम्बन्धलाई अझ गाढा बनाउन नेपाल र भारत सरकार तथा दुवै देशका नागरिकहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले विवाह पञ्चमीको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न दुवै देशका सरकारले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री सिंहको नेतृत्वमा मधेस प्रदेशका २५१ सदस्यीय टोली तिलकोत्सव समारोहका लागि अयोध्या पुगेको छ । टोलीमा प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साह, गृह तथा सञ्चार मन्त्री राजकुमार लेखी, श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह, प्रदेशसभा सदस्य रुपा यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायतका विशिष्ट व्यक्तिहरू सहभागी छन् ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनालगायत १०५ प्रकारका सामग्री लिएर अयोध्यामा श्रीराम मन्दिर ट्रस्टलाई हस्तान्तरण गरिएको छ । टोली वीरगञ्ज हुँदै रक्सौलबाट भारतीय भूमि प्रवेश गरी अयोध्या पुगेको थियो ।जनकपुरधाममा यही मङ्सिर २१ गते रामजानकी विवाह पञ्चमी समारोह भव्य रूपमा मनाइने तयारी भइरहेको छ । यो अवसरमा हजारौँ भक्तजनको सहभागिता हुने अपेक्षा गरिएको छ । यस धार्मिक पर्वले जनकपुरधाम र अयोध्याबिचको ऐतिहासिक सम्बन्धलाई अझ बलियो बनाउँदै दुई देशका सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने विश्वास लिइएको छ ।नेपाल र भारतबिच रोटी–बेटीको सम्बन्धका रूपमा चिनिने जनकपुरधाम र अयोध्याको सांस्कृतिक सम्बन्धले दुई देशबिचको मित्रताको प्रतिकात्मक रूप प्रस्तुत गर्दै आएको छ । विवाह पञ्चमीजस्ता कार्यक्रमहरूले यो सम्बन्धलाई अझ मजबुत बनाउने भूमिका खेल्दै आएका छन् ।

Leave a Reply