वीरगञ्ज,मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले यु– १९ महिला विश्वकप क्रिकेटका लागि छनोट भएकी नेपाली राष्ट्रिय टिमकी सदस्य साना प्रवीणलाई उनको घरमै पुगेर बधाई दिनुभएको छ ।आइतवार दिउँसो वीरगञ्ज महानगरपालिका– १३ मूर्लीस्थित सानाको निवासमा पुगेका मन्त्री जयसवालले उनलाई माला लगाई सम्मान गर्नुभयोे । साथै, आगामी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नका लागि शुभकामना समेत दिनुभएको थियो ।सो अवसरमा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनता अन्सारीले सानालाई क्रिकेट खेलका सामग्री प्रदान गर्दै खेलप्रतिको लगाव, मेहनत र लगनशीलताको सराहना गर्नुभयो ।

मन्त्री जयसवालले यु–१९ महिला विश्वकपका लागि छनोट भएका मधेस प्रदेशका तीनै जना खेलाडीको हौसला बढाउन उनीहरूको घरमै पुगेर बधाई दिने कार्यक्रम राखिएको बताउनुभयो । उहाँले यस अभियानको पहिलो चरणमा सानालाई सम्मान गरे भने अब राष्ट्रिय टिमकी कप्तान पूजा महतो र अर्की खेलाडी एलिशा यादवको निवासमा पुगेर पनि सम्मान गर्ने जानकारी दिनुभयो ।यसअघि, मन्त्री जयसवालले यु– १९ महिला विश्वकप क्रिकेटका लागि छनोट भएका मधेसका तीनै जना खेलाडीलाई जनही १ लाख ५१ हजार रुपैयाँको पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको थियो । उहाँले छिट्टै एक औपचारिक कार्यक्रममार्फत उक्त पुरस्कार हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

नेपालको यु–१९ महिला क्रिकेट टिम आगामी डिसेम्बर १५ देखि १८ तारिखसम्म मलेसियामा हुने यु–१९ महिला एसिया कप र जनवरी १८ देखि फेब्रुअरी २ तारिखसम्म मलेसियामै आयोजना हुने यु–१९ महिला विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।
मधेस प्रदेशका तीन प्रतिभावान् खेलाडी साना प्रवीण, पूजा महतो, र एलिशा यादवको यो उपलब्धिले प्रदेशकै खेलकुद क्षेत्रमा नयाँ प्रेरणा जगाएको छ । खेलाडीहरूलाई प्रोत्साहित गर्न मन्त्री जयसवालको यो कदमलाई स्थानीय तहमा सकारात्मक रूपमा लिइएको छ ।

Leave a Reply