गोकुल घोरसाइने
बारा,विवाहमा आएका जन्तिको स्वागत, सत्कार र विवाह घरको श्रृगार पनि राम्रो नभएको भन्दै मण्डपबाटै भाग्न खोज्ने भारतीय बेहुला र उनका बुबालाई बारा प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले भारत जिल्ला पूर्वी चम्पारण ग्राम पञ्चायत कथवलिया सुगौली बस्ने २३ वर्षिय बेहुला शशीकुमार चौरसिया र उनका बुबा ४६ बर्षिय श्यामकान्त भगतलाई पक्राउ गरेको हो ।बाराको महागढीमाई नगरपालिका– ६ बबुआईन बस्ने कालिचरणप्रसाद चौरसियाकी २१ वर्षिय छोरीसँग शशीकुमारको विवाह तय भएको थियो । विवाहको लागि आइतबार राति भारतबाट जन्ती लिएर आएका बेहुला र उनका बुबा भगतले आफ्ना पाहुनाहरुलाई बेहुली पक्षले भने अनुरुप स्वागत र सत्कार नगरेको र स्वयंबर गर्ने मण्डपको सृगार पनि राम्रो नभएको भन्दै विवाद निकालेर विवाह नै रद्द गर्ने प्रयास गरेका थिए ।बरमाल÷स्वयम्बर गर्ने स्थान (स्टेज) को सजावट राम्रो नभएको र जन्तीहरूलाई खाना र नास्ताको प्रवन्ध पनि राम्रो नगरेको निहुँमा विवाद निकालेर विवाह नै रद्द गर्न खोजेपछि प्रहरीले बेहुला शशीकुमार र उनका बुबा भगतलाई राति १ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुयो ।‘नास्ता खाएर स्वयम्बर गर्ने क्रममा स्टेजको श्रृगार राम्रो नभएको निहुँ निकालेर बेहुला र उनका बुबाले जन्ति लिएर घर फर्किन खोजेका रहेछन, उपरीक्षक बोगटीले भन्नुभयो, घटनाको बारेमा जानकारी पाउने बित्तिकै पुगेको प्रहरीले दुबैलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको छ ।’बेहुला र बुबालाई प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय केही अगुवाहरुको पहलमा बेहुली पक्षको विवाहा तयारी क्रममा भएको सबै खर्च बेहोर्न लगाएर राति नै बेहुला र जन्तिलाई भारत फर्काउने सहमति पनि भएको बताइएको छ । ‘केही पक्षको भएको भनिएको ८÷१० लाख रकम तिर्न लगाएर जन्ति फर्काउन स्थानीय केही मानिसहरुबीच सहमति पनि भएको थियो, उपरीक्षक बोगटीले भन्नुभयो, तर प्रहरीले बेहुला पक्षलाई कानुनी कारबाही नै गर्ने अडान लिएपछि उक्त प्रयास सफल हुन पाएन ।’ पक्राउ गरेको रातदेखि मंगलवार दिउसोसम्म पनि मुद्दा नचलाउन भनेर दवाव आएको उपरीक्षक बोगटीले जनकारी दिनुभयो । बेहुला र उनको बुबाले बेहुली र उनको परिवारसंग गैह्कानुनी र अमानवीय कार्य गरेकोले आफूहरुले दोषिमाथि कानुनी कारबाही हुनुपर्ने अडान लिएको उपरीक्षक बोगटीको भनाइ छ ।विवाह मण्डपबाट भाग्न खोजेपछि बेहुला र बेहुली पक्षबीच विवाद उत्पन्न भएको र सोही क्रममा दुबै पक्षका मान्छबीच केही बेर हातपातसमेत भएको थियो । सोही क्रममा स्थानीयले खबर गरेपछि प्रहरी विवाह घरमा पुगेको थियो ।पक्राउ परेका बेहुला र उनका बुबाउपर अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कलैयाबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।


















