कलैया,कर्मचारी अभाव र पर्याप्त स्थान नहुँदा बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रममा अध्ययन अनुसन्धानको काम प्रभावित भएको छ ।कार्यालय परिसरमा हाल कुखुरा, टर्की, बट्टाई, तित्रालगायत पन्छीमा अनुसन्धान तथा चल्ला उत्पादन एवम् बिक्री वितरण भइरहेकोमा अष्ट्रिच र हाँस जस्ता पन्छीमा अनुसन्धान गर्न स्थान अभाव भएको हो ।कार्यक्रम प्रमुख पूर्णभद्र चापागाईले अढाई बिघा जग्गामा कार्यालय सन्चालन, चल्ला उत्पादन, पन्छीपालनदेखि कर्मचारी आवाससम्मको व्यवस्था मिलाएर सकसपूर्ण रुपमा काम गरिएको बताउनुभयो ।

२०१८ सालमा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरी सेन्ट्रल ह्याचरीको रुपमा स्थापना भएको यो कार्यालय २०४८ सालमा नेपाल कृषि अनुसन्धान परिषद् मातहत गाभिएर क्षेत्रीय कृषि निर्देशनालय परवानीपुरको कुखुरा अनुसन्धान इकाईको रुपमा सन्चालित थियो ।

संघीय सरकारले २ वर्षअघि यो कार्यालयलाई राष्ट्रिय पन्छी अनुसन्धानको रुपमा केन्द्रीय स्तरको कार्यक्रमको रुपमा सन्चालन गरिरहेको छ । तर पन्छीकै अनुसन्धानका लागि पर्याप्त जग्गाको अभाव र दरबन्दी अनुसार कर्मचारी पनि अभाव हुँदा अनुसन्धान कार्य प्रभावित भएको कार्यालयका सूचना अधिकृत एवम् वैज्ञानिक डा. अजितकुमार झा बताउनुहुन्छ । कार्यक्रमको संधियार क्षेत्रिय कृषि निर्देशनालय परवानीपुरसँग पर्याप्त जग्गा रहेकाले त्यसमध्ये थोरै उपलब्ध गराइए पनि अत्यन्त उपयोगी हुने डा. झा बताउँनुहुन्छ ।

६ दशक भन्दा बढी अनवरत रुपमा सन्चालनमा रहेको यो ह्याचरीले देशको बिभिन्न भेगका किसानलाई कुखुरा, हाँस, टर्की, बट्टाईलगायतका पन्छीका चल्ला निःशुल्क तथा सशुल्क समेत बिक्री वितरण गर्दै आएको छ । कार्यक्रमले हाल गिरिराज, न्यू हेम्पसायर, ब्ल्याक अष्ट्रेलो, कर्निस, कडकनाथ, प्वाँख उल्टे आदि जातका कुखुराहरु, टर्की, बट्टाईलगायतका पन्छीहरुमा देशव्यापी अनुसन्धान र प्रसारको काम गरिरहेको छ ।

Leave a Reply