गोकुल घोरसाइने
निजगढ,सिस्नेरी पहिरोमा परेर ज्यान गुमाएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ स्थित वाल्सत्यदेवी मावि एन्फा एकेडेमीमाका प्रशिक्षार्थी फुटबल खेलाडी विकल रेग्मीको परिवारले अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको ८ लाख आर्थिक सहयोग बुझ्न अस्वीकार गरेको छ ।दुई साताअघि आएको पहिरोमा परेर ज्यान गुमाएका विकल रेग्मीको परिवारमा घोषणाअनुसारको आर्थिक सहयोग गर्न भनेर मंगलवार निजगढ आएको एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ्ग नेतृत्वको टोलीलाई बुबा जयन्त र आमा कमलाले घटनाको छानबिन गरी दोषिमाथि कारबाही नभएसम्म आर्थिक सहयोग नलिने बताएका हुन ।
एन्फाले घोषणा गरेको ८ लाख रुपैया बराबरको चेक लिएर एन्फा अध्यक्ष नेम्वाङसहित महासचिव किरण राई र पदाधिकारीहरुको टोलीमृतक परिवारको निजगढ नगरपालिका वडा नम्बर ८ खयरघारीमा पुगेको थियो ।२० असोजमा बसेको एन्फाको आपतकालीन बैठकले पीडित प्रतिपरिवारमा आठ÷आठ लाख रुपैयाँ आर्थिक राहत प्रदान गर्ने निर्णय गरेको थियो।विकलकी आमा कमलाले एन्फा र विद्यालयको लापरबाहीका कारण छोराको मृत्युभएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषिमाथि कारबाही नभएसम्म आर्थिक सहयोग नलिने बताउनुभयो । ‘दोषिमाथि कारबाही गरेर विकलमाथि न्याय दिइनुपर्छ, कमलाले भन्नुभयो, अनिमात्रै राहत र अन्य सहयोगको कुरा हुन्छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुभाषचन्द्र ठकुरी र एन्फाका पदाधिकारी र विद्यालयका शिक्षकहरुको लापरबाहीका कारण घटना भएको सुनाउदै कमलाले विकलले न्याय नपाउँदासम्म कुनै किसिमको आर्थिक सहयोग स्वीकार नगर्ने बताउनुभयो ।‘छोराको भविष्य राम्रो होला कि भनेर एन्फाको जिम्मा लगाएको हुँ,’ उहाँले भन्नुभयो, तर छोराको ज्यानभन्दा ठूलो अरु केही पनि छैन, पैसा चाहिएन ।’उहाँले एकेडेमीका विद्यार्थीहरुसंग विद्यालयका शिक्षक कर्मचारीहरुले आर्थिक शोषण गर्ने र मानसिक यातना दिने गरेको गुनासोसमेत उनीहरुले आफूसंग गरेको सुुनाउदै आमा कमलाले आफ्नो छोरालाई दिइएको यातनाको प्रमाण आफूसंग रहेको कानुनी उपचारका निम्ति अदालत जाने चेतावनीसमेत दिनुभयो ।
पीडित परिवारका सदस्यहरुसंग कुरा गर्दै एन्फा महासचिव किरण राईले प्रशिक्षार्थी खेलाडी रहेको स्कुलले समयमै उचित कदम नचालेका कारण दुःखद घटना हुनपुगेको बताउनुभएको थियो । ‘त्यहाँ बाढीपहिरोको जोखिम रहेको थाहा पाउनेबित्तिकै मैले घटनाको अघिल्लो दिन नै वाल्सत्यदेवी माविका शिक्षकलाईसुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको थिएँ, तर यसको लागि विद्यालयले जसरी सचेतताका साथ काम गर्नुपर्ने हो सो अनुसार गरेको पाइएन ।’ विकलसहित भविष्य बोकेका खेलाडीहरुको दुःखद निधनले आफूहरु अन्यन्तै दुखित बनेको पनि उहाँले सुनाउनुभयो । उहाँले घटनाको अनुसन्धान भइरहेको र दोषिमाथि काराबाही गरिने आश्वासन पनि दिनुभएको थियो ।
सोहीक्रममा अध्यक्ष नेम्वाङ्गले एन्फाको तर्फबाट विकलका दाजुलाई शोक पत्र प्रदान गर्नुभएको थियो ।पीडित परिवारसँगको भेटको क्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, एन्फा मधेश प्रदेशका अध्यक्ष नेपाल कार्की, बारा जिल्ला अध्यक्ष रामचन्द्र लामा, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोइराला, जिल्ला फुटबल संघ बाराका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

















