सिमरा,टाई टाइव्रेकरमा ४–३ को कठिन जित निकाल्दै मकवानपुर ११ सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । मकवानपुर ११ ले बनाएको २–० को शुरुवाती अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाईव्रेकरमा धकेलिएको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि ३० मिनटको अतिरिक्त समयमा पनि दुबै टिमले १–१ को बराबरी खेले ।मकवानपुरको जितमा टाईव्रेकरमा संजिव अर्याल, मनिष पौडेल, सुजन गुरुङ र सुदिप श्रेष्ठले गोल गरे । मकवानपुरका अविनास खड्काको प्रहार भरतपुरका गोलरक्षकले बचाउ गरे । भरतपुरका लागि सजिन थापा, भिष्म क्षेत्री र सुनिल श्रेष्ठले गोल गरे । टिप्सन राईको प्रहार क्रसबार माथिबाट बाहिरियो भने आकाश थापामगरको प्रहार गोल पोष्टबाट रिबाउण्ड भयो ।निर्धारित समयको खेलमा मकवानपुरले खेलको दशौं मिनटमै २–० को अग्रता लिएको थियो तर त्यसलाई जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाईव्रेकरमा धकेलिएको थियो ।मकवानपुरले खेलको चौथो मिनटमा सुजन गुरुङको गोलबाट अग्रता बनायो । भरतपुरका गोल रक्षकले आफ्ना खेलाडीलाई पास दिन खोजेको बल विट गर्दै करिब ३० यार्डपरबाट सुजनले गोल गरेका थिए ।१–० ले पछि परेको भरतपुरविरुद्ध आक्रामक खेल खेलेको मकवानपुरले खेलको दशौं मिनटमा अग्रता दोब्बर पा¥यो । मनिष पौडेलले करिब ४५ यार्ड परबाट गरेको प्रहार गोलमा परिणत हुँदा भरतपुरका गोलरक्षक मनोज गुरुङले अनुमान समेत गर्न सकेनन् ।३३ औं मिनटमा भरतपुरका भिष्म क्षेत्रीले बराबरी गोल फर्काए । मकवानपुरका सञ्जिब अर्यालले फाउल गरेपछि पाएको फ्रिकिकमा सजिन थापाले करिब १९ यार्डबाट हानेको प्रहारलाई भिष्म क्षेत्रीले आकर्षक हेडिङ मार्फत गोलमा परिणत गरेका थिए ।खेलको ५५ औं मिनटमा सजिन थापामगरले भरतपुरका लागि बराबरी गोल गरे । सुनील श्रेष्ठको पासमा सजिनले डिबक्स भित्रबाट सुन्दर गोल गरे ।करिब पाँच हजार दर्शकको उपस्थिति रहेको सिमरा रङ्गशालामा पहिलो क्वाटरफाइनल रोमाञ्चक रह्यो । निर्धारित ९० मिनटको खेल बराबरी खेलेका दुबै टिमले अतिरिक्त समयको ३० मिनेट जितका लागि कठिन संघर्ष गरे । अतिरिक्त समयको पाँचौ मिनटमा मकवानपुरले भरतपुरका सुधांश चौधरीको आत्मघाती गोल बाट ३–० को अग्रताबनाएको थियो । गोल लाईनबाट बल क्लिएर गर्ने क्रममा सुधांशको प्रयासले जाली चुमेपछि मकवानपुरका समर्थक उत्साहित बने ।मकवानपुरको अग्रतालाई भरतपुरका सुनीलश्रेष्ठले अतिरिक्त समयको १५ औं मिनटमा बराबरीमा ल्याए । सेन्टर लाईनबाट एकल प्रयासमा बल अघि बढाएका सुनीलले करिब ३० यार्ड परबाट बललाई गोल पोष्टको दिशा दिएका थिए ।प्रतिस्पर्धात्मक खेलमा मकवानपुर ११ र भरतपुर फुटबल क्लबले थुप्रै आकर्षक अवसरहरु गुमाएका थिए । शुरुवाती दबाबलाई झेल्दै उत्कृष्ट प्रदर्शन गरेको भरतपुर प्रतियोगिताबाट बाहिरिए पनि घरेलु दर्शकको मन जित्न सफल भयो । प्रिक्वाटरमा आयोजकलाई पराजित गरेको भरतपुरको समर्थनमा अधिकांश स्थानीय दर्शक प्यारापिटबाट हुटिङ गरिरहेका थिए ।

Leave a Reply