चैत १५ गते काठमाडौंमा केके न हुन्छ भनेर एक थरिले प्रचार गरिरहेका छन् । हुने चैं के हो भने गणतन्त्रको नाउँमा केही पार्टीले र राजावादीको नाउँमा केही पार्टी र समूहले प्रर्दशन गदैैछन् ।यो देश सबैको साझा भएकाले देशको चिन्ता गर्ने अधिकार सबैलाई छ तर यहाँ देशकोभन्दा दल र वादको चिन्ता बढी देखिएको छ । चैत १५ गते हुने भनिएको प्रर्दशनमा जनता र देशको कुरा कहाँ छ ?जनताको चिन्ता कसले गरेको छ र ? राजावादीको नाउँमा भनौं वा गणतन्त्रको नाउँमा यो देशमा विगत कयौं वर्षदेखि भद्दा मजाक मात्रै हुदै आइरहेको छ ।
पूर्खाहरुले लडेर जोगाएको देशमा एक शताब्दीयता नै विभिन्न बाहनामा मजाक भइरहेको छ । राणहरुले यो देशमा मजाक गरे,देश बन्धक बनाए । राजाहरुको त कुरै नगरौं, ठूला अपराधका घटना दरवारभित्र नै भएका छन् । पृथ्वीनारायण शाह बाहेकका राजाहरुले पनि देशको लागि केही गरेनन् । पछिल्ला समयका राजाहरुले त झन देश र जनताप्रति उत्तरदायी देखिनन् उल्टै देशलाई अन्तर्राष्ट्रिय जगतमा बदनाम गराउने काम मात्रै गरे । राजा ज्ञानेन्द्रसम्म त आउदा राजाहरु स्वार्थमा नै बढी रमाएको देखिन्छ । महेन्द्र पञ्चायत शुरु गरिएदिए, ३० वर्ष देश यसै पछाडि परेकै हो अनि बहुदलको नाउँमा फेरि देशमा अराजकता भयो अनि जनयुद्धको नाउँमा देशमा ठूलो क्षति भयो ।
देशलाई मायाँ गर्नेभन्दा पनि आफ्नो स्वार्थ सिद्धमा सबै लागेका छन् । शनिवारको प्रदर्शन पनि स्वार्थका लागि नै हो । मानौं यो देशमा राजाकै शासन आयो रे, के परिवर्तन हुन्छ र ? हिजो पनि राजाको शासन हेरेकै हो । त्यसैले राजावादी,गणतन्त्रवादी सबैले देशको स्वार्थलाई केन्द्रमा राख्नुपर्दछ । देशमाथि मजाक नगरौं । यो कसैका लागि हितकर छैन ।
















