निजगढ,निजगढ नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएका महिलाहरुको लागि सुरक्षित सुत्केरी प्रोत्साहन र पोषण प्रोत्साहन खर्च बापतको रकम शुक्रवार वितरण गरेको छ ।

नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले प्राथमिक स्वास्थ्य केन्द्रको बर्थिङ्ग सेन्टरमा बच्चा जन्माउने २६ जना महिलाहरुलाई सुत्केरी खर्च र नगरपालिकाले उपलब्ध गराउदै आएको पोषण प्रोत्साहन बापत प्रतिव्यक्ति २ हजार ८ सयको दरले रकम वितरण गर्नुभएको हो ।

बर्थिङ्ग सेन्टरमा प्रसुति गर्ने महिलाहरुलाई संघीय सरकारबाट प्राप्त १ हजार ८ सय र निजगढ नगरपालिकाले प्रदान गरेको पोषण भत्ता बापत थप १ हजार गरी सो रकम वितरण गरिएको निजगढ नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply