निजगढ,बाराको निजगढमा घरायसी विवादमा धारिलो हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घटनामा २ छोरी घाइते बनेका छन ।निजगढ नगरपालिका– ९ भमरामा ससुराली घरमा बस्दैआएका ४५ वर्षीय बिमलकुमार बस्नेतले मंगलवारराति ८बजे ४० वर्षीया श्रीमती लक्ष्मी राईमाथि धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेका हुन् । खर्पा प्रहारबाट गम्भीर घाइते राईलाई अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
घटनापछि बस्नेतले राति नै इलाका प्रहरी कार्यालयमा आत्मासमर्पण गरेका थिए ।प्रहरीका अनुसार घरमा जडान गरिएको इन्टरनेटमा रिचार्ज गर्ने विषयमा शुरु भएको झगडाले उग्ररुप लिएको थियो । शौचालयमा रहेकी श्रीमतीले घरमा जडाज गरेको इन्टरनेटमा रकम नहुँदा सामाजिक सञ्जाल प्रयोग गर्न नपाएको भन्दै रिचार्ज गर्न श्रीमानलाई आग्रह गरेपछि भनाभन परेको थियो ।
मदिरामा सेवन गरेका बस्नेतले नजिकै रहेको खुर्पाले शौचालयमा रहेकी श्रीमतीलाई पटक पटक प्रहार गरेका थिए ।
आमामाथि आक्रमण गर्न थालेपछि छुटाउन भनेर पुगेका छोरीहरु गंगा र जमुनाको पनि हातमा चोट लागेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुश्वाहले बताउनुभयो । दुबैको निजगढ सामुदायिक अस्पतालमा उपचारपछि थप उपचारको लागि वीगञ्ज पठाइएकोमा गंगाको अवस्था थप गम्भीर बनेकाले वीरगञ्जबाट काठमाण्डौंको अस्पतालमा रिफर गरिएको निरीक्षक कुश्वाहले जानकारी दिनुभयो ।घटनास्थलबाट प्रहरीले रगत लागेको खुर्पा बरामद गरेको छ । राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


















