सिंगौल,निजगढ ३ स्थित टाँसीधार्गेलिङ्ग गुम्बा परिसरमा लागेको गुम्बा मेलामा हुलहुज्जत र तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।मादक पदार्थ सेवन गरी सांस्कृतिक कार्यक्रम स्थलमा प्रवेश गरी तोडफोड गरेको आरोपमा प्रहरीले बाराको कोल्हबी नगरपालिका वडा नम्बर २ हनुमानगंज बस्ने घ्यामजे मुक्तानको छोरा अन्दाजी बर्ष २८ को दिनेश तमाङलाई अस्थायी प्रहरी पोष्ट सिंगौलको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।
गुम्बामा तामाङ्ग समुदायका श्रद्धालुहरुले मृतक आफन्तहरुको संझनामा बत्ति बाल्ने र सोही अवसरमा ३ दिनअघिबाट लाग्दैआएको गुम्बा मेला शनिवारबाट सकिएको छ ।यसैबीच निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौलमा ज्याङछुप छोर्तेनको उद्घाटन गरिएको छ । निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङले नव निर्मित ज्याङछुप छोर्तेनको शुक्रवार एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो ।स्थानीय मानबहादुर लामाको परिवारले स्वर्गीय माता-पिताको स्मृतिमा सो स्तुपा निर्माण गरिएको हो । निजगढ ३ स्थित टाँसीधार्गेलिङ्ग गुम्बा परिसरमा निर्माण भएको सो स्तुपा उद्घाटन कार्यक्रममा वडा अध्यक्ष गोकुल तिमल्सिना, नेकपा एमाले निजगढ नगर कमिटी सचिव तिलक घलान, माओवादी प्रदेश कमिटी सदस्य रविराज दंगाल, नेकपा एकिकृत समाजवादीका निजगढ नगर अध्यक्ष भिमप्रसाद सापकोटालामालगायत धार्मिक गुरुसहित स्थानीयको सहभागिता रहेको थियो ।


















