निजगढ,बीमा कम्पनीहरुले केरा बालीको बीमा गर्न इन्कार गरेपछि मार्कामा परेका निजगढका केरा उत्पादक किसानहरुले आइतवार कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।बारा फलफूल तथा केरा उत्पादक व्यवसायी संघको नेतृत्वमा किसानहरुले जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई र निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीमार्फत कृषि मन्त्री अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन ।

विज्ञप्तिमा आगामी भाद्र २२ गतेभित्र केरा बाली बीमा सुचारु नगरिए भाद्र २३ गतेबाट सडक आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।संघका अध्यक्ष एकबहादुर श्रेष्ठले हस्ताक्षर गरेको उक्त पत्रमा नेपाल सरकारको सहयोगमा बीमा समितिमार्फत बीमा कम्पनी र किसानको ८०÷ २० प्रतिशत रकम लगानीमा विगतका वर्षहरुदेखि नै केरा बालीको बीमा हुँदैआएकोमा यस वर्ष भने बीमा कम्पनीहरुले सोही अनुरुप केरा बालीको बीमा गर्न इन्कार गरेकाले केरा खेती गर्ने किसानहरु ठूलो मर्कामा परेको उल्लेख छ ।

त्यसैगरी विज्ञप्तिमा अगाडि भनिएको छ– ‘कृषि तथा पशुपंक्षी मन्त्रालयमा संघले बीमा सम्बन्धि हाल देखिएको समस्याको निराकरण गर्ने बारेमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत हालसम्म पनि सरकारले कुनै सुनुवाइ नगरेको र हाल केराको बीमा गर्ने समयसमेत घर्किदै जाँदा बालीमा हुने क्षतिबापत किसानले पाउनुपर्ने रकम पनि घटने भएकोले बारा जिल्लासहित देशभरिका किसानहरु सरकारले उपलब्ध गराएको बीमा सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था उत्पन्न भएको छ ।’
निजगढमा शनिवार भएको किसानहरुको भेलाले पहिलो चरणको आन्दोलन अन्तर्गत आगामी २३ गते निजगढस्थित पूर्वपश्चिम राजमार्गमा किसानहरुले कोण सभा र प्रदर्शन गर्ने कार्यक्रम समेत निर्धारण गरेको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटमा साना किसानको लागि मात्रै ८० प्रतिशत अनुदानमा बीमा गर्ने उल्लेख गरेको र साना किसानको मापदण्ड निर्धारण गरेर नपठाएपछि बीमा कम्पनीले यो वर्षको लागि देशभरि नै बाली बीमा गर्न इन्कार गर्दैआएका छन । किसानहरुले सरकारले साना र ठूला किसानको स्पष्ट ब्याख्यासहित मापदण्ड बनाएर बीमा कम्पनीहरुलाई उपलब्ध गराउनुपर्ने माग राखेका छन । केरा जोन घोषणा भएको निजगढमा हाल करिव १ हजार ८ सय हेक्टर क्षेत्रमा करिव २ हजार किसानले व्यवसायिक रुपमा केरा खेती गर्दैआएका छन । अघिल्लो वर्ष निजगढका करिब ३ सय किसानले केरा बालीको बीमा गरेका थिए । निजगढमा उत्पादन भएको केरा काठमाण्डौं, पोखरा, बुटवल र नारायणगढ जस्ता शहरमा बिक्री हुदैआएको छ ।

Leave a Reply